पोखरा । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् । सोमबार दिउँसो करिब १२ः०५ बजे डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको लु २ ख १५४ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा धादिङको सिद्धलेक गाउँपालिका–६ निवासी ३० वर्षीय चालक सञ्जीव मगर र २२ वर्षीय सहचालक प्रदीप विक घाइते भएका थिए । दुवैलाई उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएकोमा चालक मगरलाई दिउँसो १२ः४५ बजे चिकित्सकले मृत घोषणा गरेका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो । सहचालक विकको शरीरका विभिन्न भागमा चोट लागेको छ भने उहाँको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट ट्राफिक प्रहरीसहित १५ जनाको टोली खटिएको छ । दुर्घटनाग्रस्त ट्रक सडकबाट निकाल्ने प्रयाससमेत भइरहेको प्रहरीले जनाएको छ ।