म्याग्दी । दशैँ पर्व सकिएसँगै म्याग्दीका ग्रामीण भेगमा वर्षेबाली भित्र्याउने चटारो बढेको छ । खेतमा धान पाकेर पहेँलपुर बनेका छन् भने बारीमा कोदो, भटमास, गहत र बोडीलगायतका बाली थन्क्याउन किसान व्यस्त छन् ।
म्याग्दीको माथिल्लो भेगमा कात्तिकको पहिलो सातादेखि नै धान काट्ने र भित्र्याउने काम सुरु भएको छ । वर्षायाममा रोपिएको धानसहित अन्य खाद्यान्न बाली भित्र्याएपछि गहुँ, जौ, तोरी र उवालगायतका हिउँदेबाली लगाउने तयारीमा समेत किसान जुटेका छन् । असोजदेखि मंसिरसम्मको समय यहाँका किसानका लागि खेतीपातीको कामले निकै व्यस्त हुने मुख्य मौसम हो ।

अहिले गाउँघरमा धान काट्ने, बोक्ने, कुन्यु लगाउने र दाइँ हाल्ने कामले तीव्रता पाएको मालिका गाउँपालिका–४, चिउरीबोटका किसान होमबहादुर घर्तीले जानकारी दिनुभयो । धान भित्र्याएपछि हिउँदेबाली लगाउन खेतबारी तयार पार्ने काम सुरु हुने उहाँले बताउनुभयो ।

यहाँका किसानले अझै पनि परम्परागत विधिबाट धान झार्ने गरेका छन् । किसानले गोरु घुमाएर पराल माड्दै तथा मुठा पारेर हातले झाँट्दै खलामा धान झार्ने चलनलाई निरन्तरता दिँदै आएका छन् । साथै अर्मपर्मको परम्परालाई निरन्तरता दिँदै छरछिमेकी मिलेर एकअर्काको खेतमा धान भित्र्याउने कामसमेत भइरहेको छ । तर रोजगारी, शिक्षा र सुविधाको खोजीमा युवापुस्ता सहर तथा विदेशतर्फ जाने क्रम बढेसँगै गाउँमा कृषि कामदारको अभाव हुन थालेको छ । परम्परागत कृषि प्रणाली र आपसी सहयोगको अभ्यास कायम रहे पनि पर्याप्त जनशक्ति नहुँदा समयमै बाली भित्र्याउन किसानलाई कठिनाइ भइरहेको छ ।

म्याग्दीमा ३ हजार ८ सय ९८ हेक्टर जमिनमा धानखेती हुँदै आएको छ । जिल्लाका सबै स्थानीय तहमा धान उत्पादन हुने गरेको छ । यहाँ गौरिया, गुडुरा, दर्माली, मार्सी, आङा अर्थात् कालो धान, झिनुवा, ताकमारे, माछापुच्छ्रे–३ र लुम्ले–२ लगायतका जातका धान रोप्ने गरिन्छ ।

यस वर्ष बाली भित्र्याउने समयमा परेको बेमौसमी वर्षाले किसानको चिन्ता थपिएको छ । गत असोजको दोस्रो सातामा परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले धानखेतमा क्षति पुर्याएको थियो । त्यसपछि पनि मौसममा आएको प्रतिकूलताले पाकेको बाली सुरक्षित रूपमा थन्क्याउन चुनौती थपेको छ ।

बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभावका कारण नेपालमा समेत मौसम प्रभावित हुने पूर्वानुमान गरिएको छ । कात्तिक १२ देखि १४ गतेसम्म वर्षा र हिमपातको सम्भावना रहेकाले खेतमा पाकेको धान समयमै भित्र्याउन किसानलाई थप दबाब परेको छ ।
एकातिर मौसमको अनिश्चितता र अर्कोतिर श्रमिक अभावका कारण किसानलाई पाकेको बाली जोगाउन मुस्किल भइरहेको छ । धान भित्र्याउने कामसँगै हिउँदेबाली लगाउने तयारीसमेत गर्नुपर्ने भएकाले अहिले म्याग्दीका किसानलाई खेतीपातीको काम भ्याइनभ्याइ भएको छ ।


