म्याग्दी । म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम शिवालय परिसरमा स्वर्गीय डा. बिन्दु पराजुली काफ्लेको स्मृतिमा निर्माण गरिएको सुविधासम्पन्न भवन शनिबार हस्तान्तरण गरिएको छ । करिब एक करोड २५ लाख रुपैयाँको लागतमा निर्माण भएको दुईतले भवनको उद्घाटन १०१ वर्षीया ज्येष्ठ नागरिक धनसरी पाइजा गिरीले गर्नुभएको हो ।

बेनी नगरपालिका–१०, पात्लेखेतमा जन्मिनुभएकी डा. काफ्लेको स्मृतिमा उहाँका श्रीमान् डा. सुरेश काफ्ले र छोराछोरीको आर्थिक सहयोगमा डा. बिन्दु पराजुली काफ्ले स्मृति प्रतिष्ठानमार्फत भवन निर्माण गरिएको हो । बेलायतमा निधन हुनुभएकी काफ्लेको सम्झनालाई सामाजिक तथा धार्मिक कार्यसँग जोड्ने उद्देश्यले परिवारले गलेश्वरमा स्मृति भवन निर्माण गर्ने निर्णय गरेको थियो ।

गलेश्वर शिवालय क्षेत्रको विकासमा योगदान पुर्याउनुभएका सामाजिक व्यक्तित्व राधाकृष्ण पराजुलीकी जेठी छोरीसमेत रहनुभएकी बिन्दुको जन्मथलो र बाल्यकालसँग गलेश्वर क्षेत्रको सम्बन्ध रहेकाले उहाँको स्मृतिमा यही स्थानमा भवन निर्माण गरिएको प्रतिष्ठानका प्रतिनिधि रमेश सुवेदीले जानकारी दिनुभयो । भवन निर्माणको आर्थिक व्यवस्थापन तथा आवश्यक निर्णय प्रक्रियामा सुवेदीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

आधुनिक सुविधासहित निर्माण गरिएको दुईतले भवनमा एउटा ठूलो सभाहल, चारवटा कोठा, एउटा भिआइपी एटेच बाथरुमसहित दुईवटा शौचालय रहेका छन् । धार्मिक अनुष्ठान, सभा, बैठक, सामाजिक गतिविधि तथा विभिन्न सार्वजनिक कार्यक्रम सञ्चालन गर्न सकिने गरी भवन तयार गरिएको हो । भवन निर्माणमा आर्थिक सहयोग गर्ने डा. सुरेश काफ्लेलाई प्रदान गरिएको सम्मानपत्र उहाँका परिवारका सदस्यलाई हस्तान्तरण गरिएको थियो ।

भवनको डिजाइन, निर्माण सामग्री र संरचनागत सुविधाका दृष्टिले जिल्लाकै नमुना संरचनाका रूपमा निर्माण गरिएको इन्जिनियर कृष्ण रिजालले बताउनुभयो । उहाँका अनुसार म्याग्दीका सामाजिक संस्था तथा धार्मिकस्थल परिसरमा यस स्तरको आधुनिक भवन निर्माण भएको उदाहरण कमै पाइन्छ ।
गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधव रेग्मीले भवन सञ्चालनमा आएपछि मन्दिरमा आउने भक्तजन, स्थानीय बासिन्दा तथा विभिन्न संघसंस्थालाई सभा, बैठक र कार्यक्रम आयोजना गर्न सहज हुने बताउनुभयो । उहाँले यसले गलेश्वर क्षेत्रको धार्मिक तथा सामाजिक गतिविधि सञ्चालनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश गैर, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, पौलस्त्य पुलहआश्रम क्षेत्र विकास कोषका अध्यक्ष लीलाबहादुर बानियाँलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, गलेश्वरधाम आमा समूह तथा गलेश्वर शिव युवा क्लबका सदस्यहरूको उपस्थिति थियो ।

गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष बमबहादुर पुनले स्वागत मन्तव्य राख्नुभएको थियो भने सदस्य सचिव सम्मरबहादुर थापाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।


