पूर्णगाउँ। म्याग्दीको मंगला गाउँपालिका–१,पूर्णगाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्न विहिवारदेखि महायज्ञ सुरु भएको छ । प्राथमिक स्वास्थ्य सेवा लिन समेत घण्टौ पैदलयात्रा गर्नुपर्ने बाध्यता भएपछि समुदायले आफै लगानी जुटाउन श्रीमद्भागवत धनधान्याञ्चल महायज्ञ सुरु गरेका हुन् ।मंसिर २१ गतेसम्म सञ्चालन हुने महायज्ञको नवनिर्वाचित प्रदेशसभा सदस्य रेशम जुग्जालीले उद्घाटन गर्नुभएको छ ।
[caption id="attachment_64438" align="alignnone" width="1024"]
महायज्ञको उद्घाटन गर्दै प्रदेशसभा सदस्य जुग्जालीले आधारभुत स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नु राज्यको दायित्व रहेको बताउँदै प्रदेश सरकार मार्फत पूर्वाधार निर्माणमा आबश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।धार्मिक यज्ञबाट समाज विकासमा सहयोग जुटाउनु सकरात्मक पक्ष रहेको बताउँदै उहाँले सामुदायिक स्वास्थ्य इकाईका लागि स्थानीय सरकारले समेत लगानी गर्न आबश्यक रहेकोमा जोड दिनुभयो । पूर्णगाउँको शिवालय र लक्ष्मीनारायण मन्दिरको परिसरमा महायज्ञ सञ्चालन गरिएको छ ।[/caption]
[caption id="attachment_64435" align="alignnone" width="1024"]
कार्यक्रममा मुख्य कथा बाचक देवराज सुवेदीले धार्मिक आध्यात्मीक चिन्तनलाई जोडेर समाजको विकास र सुधारमा पहल गर्नु समुदायको प्रसंसनीय कार्य रहेकोमा जोड दिनुभयो । महायज्ञका कार्यालय सचिब निलकण्ठ सुवेदीले यज्ञबाट संकलन हुने रकमबाट ३० प्रतिशत रकम शिवालय मन्दीर सञ्चालनको लागि कोष खडा गर्ने र ७० प्रतिशत रकमलाई सामुदायिक स्वास्थ्य इकाई स्थापनार्थ परिचालन गरिने जानकारी दिनुभयो ।[/caption]

महायज्ञमा स्वामी प्रपन्नाचार्य देवराज सुवेदीले मुख्य कथा बाचन गर्नुभएको छ । उद्घाटन समारोहका अवसरमा पूर्णगाउँमा भजनकिर्तन सहित कलस यात्रा समेत गरिएको थियो । महायज्ञको पहिलो दिन नै सहयोगदाताहरु मार्फत रु ८। लाख ६४ हजार ९ सय ८५ रकम संकलन भएको आयोजक समितिका सचिब गोविन्दप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
उक्त अवसरमा ज्येष्ठ नागरिक र महायज्ञमा आर्थिक सहयोग गर्नुहुने महानुभावका साथै सत्यनारायणको मन्दिर निर्माण गरिदिने सहयोगदाताहरुलाई समेत सम्मान गरिएको थियो । आयोजक समितिका अध्यक्ष दुर्गादत्त आचार्यको अध्यक्षता, सचिब गोविन्दप्रसाद सुवेदीको स्वागत र सागर सुवेदीको सञ्चालनमा उद्घाटन समारोह सम्पन्न भएको थियो । सो अवसरमा नवनिर्वाचित प्रदेशसभा सदस्य जुग्जालीलाई स्थानीयबासीहरुले भव्य स्वागत तथा सम्मान समेत गरेका थिए ।
बर्षौदेखि आधारभुत स्वास्थ्य उपचारको सेवा सुचारु गराउन पहल गरेपनि कतैबाट सम्बोधन नभएपछि समुदाय आफैले अग्रसरता लिएको आयोजक समितिका अध्यक्ष आचार्यले जानकारी दिनुभयो । जिल्ला सदरमुकाम पुग्न घण्टौको यात्रा गर्नुपर्ने र गाउँमा आधारभुत स्वास्थ्य उपचारको पहुँच नहुँदा पूर्णगाउँबासीले सास्ती व्यहोर्दै आएका छन् । अहिले यहाँका स्थानीयबासीले प्राथमिक स्वास्थ्य सेवा लिनका लागि पनि एक घण्टा बढीको पैदलयात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।