शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बेनीमा स्कूल
बेनीमा स्कूल
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, वैशाख २९, २०८०
Chandra Baniya 39 A
म्याग्दी । यस वर्षको “कुसे औशी” ! पछिल्लो कालखण्डमा यो दिन बाबुको मुख हेर्ने पर्वको रुपमा लोकपरिचित हुदै जान थालेको छ । संयोग ! केही लेखपढ गर्दैजाँदा प्रसाङ्गिक उद्धरणको खोजीको सन्दर्भमा थोत्रो भैसकेको ऋग्वेदको पुस्तक पल्टाउँदा किताबको कापमा मेरा स्वर्गीय ठुलोदाज्यू लालबहादुर बानियाँको पूरानो फोटो फेला प¥यो । बाबुपछिको पूजनीय दाज्यू ! फरक सन्दर्भमै भए पनि शुभ पर्वमै दर्शन मिल्यो । मन भरिएर आयो । आँखा रसाए । क्षणभरका लागि गला अवरुद्ध भएजस्तो लाग्यो । “दाज्यूको देहावसान भएको ठ्याक्कै कति भयो” भनेर छोरीलाई सोधेँ । पुरै तेह्र वर्ष बितिसकेछ ! समय कति चाँडो दगुर्छ कुन्नी ? मेरो दाजू मेरो मात्रै होइन, सिंगो गाउँको अविभावक हुनुहुन्थ्यो । खोइ, अब त मेरा दाजूलाई सम्झने मान्छेहरु गाउँमा होलान् कि नहोलान् कुन्नी ? भए पनि औलामा गन्न सकिने संख्या मात्र बाँकी होला । अलिकता जान्ने बुझ्ने मान्छेलाई गाउँघरमा भलाद्मीको नाम दिने चलन छ । वास्तवमा भलाद्मीहरुको जीवनको अधिकाँंश समय गाउँलेहरुको सेवा सहयोगमै बित्छ रपनि गाउँलेहरुको सत्तोसराप खाने पनि उनीहरु नै हुन्छन् । स्वभावतः मेरो दाजु पनि प्रशंसित मात्रै होइन, आलोचित पनि हुनुहुन्थ्यो । बुझेर नबुझेर कुरो काट्ने मान्छेहरुको समाजमा अभाव हुने कुरै भएन । समयले मान्छेलाई बिर्साउने मात्रै होइन, अप्रसाङ्गिक पनि बनाउँछ । हरेक मानिसमा मानवीय गुण अवगुणको सङ्गम रहन्छ नै । न कोही सर्वाङ्ग सुन्दर हुन्छ न कोही सर्वगुण सम्पन्न नै हुन सक्छ ! गुणावगुण स्वाभाविक मानवीय चरित्र हो । सबैका लागि “आँखामा राखे पनि नबिझाउने” हुनका लागि त भगवान बुद्धले झै “बोधीसत्व” प्राप्त गर्न सक्नु पर्छ । होइन भने सामाजिक जीवन जिउन रहर गर्नेहरुले गाली पचाउन पनि सिक्नै पर्छ । ताली र गालीलाई स्वाभाविक उपलब्धी मान्नुपर्छ । सहर्ष स्वीकार्ने क्षमता राख्नुपर्छ । प्रथमतः समाजले पत्याउने हैसियत आर्जन गर्न सजिलो छैन । निर्धक्क भन्न सकिने कुरा कति मात्रै हो भने मेरा दाजुले त्यस्तो हैसियत प्राप्त गर्नुभएको थियो । कसैले माने पनि नमाने पनि गाउँको भरपर्दो अगुवा हुनुहुन्थ्यो । मेरा दाजु जहाँसम्म पुग्नु भो, जुन सामाजिक स्थान बनाउनु भो, त्यसका निमित्त ठूलै संघर्ष गर्नु भएको थियो । पुलामा सबभन्दा पहिले एस.एल.सी. पास गरेको कीर्तीमान कायम गर्ने मेरा दाजुको शिक्षा आर्जनको जिविविषा कति कष्टपूर्ण थियो भनेर आज अनुमान गर्न कठिन हुन्छ । शिक्षाको उज्यालो घामको दर्शनका लागि उठाएका कष्ट र गरेका संघर्षका परिघटनाहरु दन्यकथा जस्ता लाग्छन् । उन्ताका गाउँघरमा स्कुल पाठशालाहरु थिएनन् । मैले अक्षराम्भ गर्ने बेलासम्म त गाउँमा स्कुल पाठशाला खुलिसकेका थिएनन । भने दाजुको जमानाको कुरो गर्नै परेन । हामी दुई भाइको आयुअन्तर एक युग अर्थात १२ वर्षको थियो । सार्वजनिक पाठशाला खुलिनसकेका हुनाले सबैको शिक्षाको आरम्भ घरबाटै हुन्थ्यो । दुर्गाकवच, चण्डी, चिठी, तमसुक साधारण गणित ज्ञान लिएपछि थप अध्ययनका लागि मल्लाज जानु भएको थियो रे । मल्लाजमा त्यतिखेर स्कूल खुलेको रहेछ । राणा दरबारसम्म मल्लवंशको पहुँच हुनुको परिणाम थियो होला सायद । मल्लाजमा अध्ययन गर्दैगर्दा मोहनबहादुर मल्लले आफूले लेखेका पुस्तकहरु पढ्न दिने गरेको कुरा दाजुले कुनै प्रसङ्गमा उल्लेख गर्नु भएको थियो । मोहनबहादुर मल्लको शैक्षिक योग्यता त कति थियो कुन्नी, तत्कालीन समयमा हाम्रो भेकका सर्वाधिक पढालेखा विद्वान् मानिन्थे । उनले लेख्थे पढ्थे । अरुलाई पनि लेखपढ गर्न प्रोत्साहित गर्थे रे । शिक्षाको महत्व बुझेकै हुनाले मल्लाजमा बेलैमा स्कूल पाठशाला स्थापना गरेका थिए । आफ्नो गाउँठाउँमा स्कुल पाठशालाको सुविधा नभएको त्यो बेलामा कालीपारका शिक्षार्थीहरु पनि मल्लाज पुग्थे । मेरा दाजुले ४÷५ वर्ष मल्लाजमा बसेर प्रारम्भिक शिक्षा लिनु परेको थियो । त्यो जमानामा सिंङ्गो पुला अर्थात पातलेखेत, घतान, अर्थुङ्गे, पुलाचौर, बेनी र सिंङ्गाले ओगटेको भूगोलमा कहिँकतै एउटा मात्र प्रारम्भिक पाठशाला थिएन । पारिबेनीमा भने स्कुूल थियो क्या रे ! स्कुलको तह कुन थियो भन्ने कुराको भने जानकारी रहेन । मल्लाज पछि पारिबेनीस्थित स्कुलमा पनि केही समय अध्ययन गर्नु भएको थियो रे । मैले देखिजान्ने कुरा भएन । सुनेको मात्र हो । बाहुनको छौंडो घरबाट भाग्यो भने बनारस वा हरिद्वार पुग्छ, खसको छौंडो कुनाघाट पुग्छ भनिन्थ्यो उ बेला । विद्याको भोकले कुदाएको बाहुनको छोरो बनासर वा हरिद्वारसम्म पुग्नुको विकल्प थिएन । त्यो जमानामा एउटा नयाँ घटना घटेछ । परिवारको अनुमति सहमतिबिना घरबाट निस्केका दुईजना खस ठिटाहरु गोर्खाभर्तीका लागि कुनाघाट जानु पर्नेमा काठमाडौंतिर हानिएछन् । घटना समाजका लागि अपत्यारिलो हुने नै भयो । शिक्षा आर्जनका लागि घरको पूर्व सल्लाह र सहमतिबिना भागेर काठमाडौं पुग्ने मेरा दाजुका साथी माननीय सांसद रेशमबहादुर बानियाँका पिताश्री हुनुहुन्थ्यो रे । अर्थात विद्याको भोकले नाताले नातिबाजे पर्ने एकजोडी लालबहादुरलाई बहकाउँदै काठमाडौं पु¥याएको थियो । दुई दुई वटा विवाह गरिसकेको लक्का जवानहरु मेरा दाजुलाई माध्यमिक शिक्षा आर्जनको तिर्खाले नेपाल खाल्डोको दर्शन गराएको थियो । लेखपढ गर्न कठिन भएर हो वा काठमाडौंको जाडो खप्न नसकेर हो कुन्नी हजुर्बा लालबहादुर पढाई छोडेर घर फर्कनु भएछ । लगत्तै गोर्खा राइफलमा भर्तीहरु हुन जानु भएछ । सायद वंश परम्पराले ताने होला । किनकि लालबहादुर हजुर्बाका पिताश्री भिमबहादुर भारतीय सेनाका सुवेदार हुनुहुन्थ्यो । मेरा दाजुले भने काठमाडौंको तत्कालीन समयमा निकै नाम चलेको सरकारी स्कुल “जेपी हाईस्कुल”मा आठ कक्षामा भर्ना भएर पढाई सुरु गर्नु भएको थियो रे ! यतिबेला बेनीमा ५÷६ वटा माध्यमकि विद्यालयहरु छन् । चार वटामा त १२ सम्मकै पढाई हुन्छ क्या रे । एउटा प्राइवेट स्कुलमा डिप्लोमाको समेत पढाई हुन्छ । अर्को एउटा डिप्लोमाको पढाई हुने त्रिविको आङ्गिक क्याम्पसमा स्नातकोत्तरको पढाई सञ्चालन गर्ने तयारी पनि चल्दै छ क्या रे । तयारी नभए पनि चर्चा भने चले जस्तो लाग्छ । बेनीको आजको यो शैक्षिक वातावरण देखे भोगेको मान्छेलाई ५०/५५ वर्ष अघि बेनीमा प्राइमरी स्कुल पनि थिएन होला भनेर पत्याउन गाह्रो पर्ने नै भयो । बरु पारिबेनीमा स्कूल थियो, वारीबेनीमा थिएन भनेर पत्याउन जोकोहीलाई गाह्रो पर्छ । बेनीको शैक्षिक जागरण तिनताका कल्पनै गर्न नसकिने गरी तन्नम थियो । वि.सं. २०२० सालमा बल्ल मिडिल स्कूल बनेको बेनीको प्रकाश माध्यमिक विद्यालयबाट पहिलो व्याचको एस. एल. सी. २०२४ सालमा निस्केको हो । मेरा दाजुले शिक्षा आर्जनका लागि गरेको संघर्षको कथा सुनाउनुको प्रयोजन सिंङ्गो म्याग्दीको शैक्षिक पछौटेपनको इतिहासको जानकारी गराउनु मात्र हो । राणा शासनको अन्तपछि झण्डै एक दशकसम्म बेनीमा स्कुल पाठशाला खुलेका थिएनन् । बेनीमा मात्रै होइन, सिङ्गो म्याग्दी जिल्लाले शैक्षिक संस्थाको मुख देख्ने सौभाग्य पाएकै थिएन । वि.सं. २०१४/२०१५ सालतिरको कुरा होला । दर्वाङ्ग निबासी समाजसेवी सेरबहादुर शेरचनले शिक्षामन्त्रालयबाट म्याग्दी भेकका लागि दश वटा प्राइमरी स्कुलहरुको स्वीकृति गराएर स्कुलको स्वीकृति र शिक्षक समेत काठमाडौंबाट लिएर आएछन् । उनैले म्याग्दी भेकमा स्कूल वितरण गर्दै हिँडेका हुन् । २०१५ सालमा स्थापित भएको काँग्रेसको सरकार ०१७ सालमै ढल्यो । संसदीय व्यवस्था समेत उखेलियो । स्कुल स्थापना भएको झण्डै एक दशकपछि अर्थात पञ्चायती व्यवस्था प्रारम्भ भएपछि पनि निकै मुश्किलले बेनीमा निमावि कक्षा सञ्चालन भएको हो । २०÷२१ सालतिर कता हो, तत्कालीन शिक्षा सहायक मन्त्री राजेश्वर देवकोटाको स्वागतका लागि म्याग्दीको सदरमुकाम बेनीमा आयोजित सभामा हाइस्कुूलको माग गर्न भनेर उभिएका सञ्चालक समितिका अध्यक्ष स्वर्गीय हरिनारायण भट्टचनले हडबडीमा प्रकाश मिडिल स्कुललाई निम्न माध्यमिक विद्यालयमा स्तरोन्नति गरिदिनु प¥यो भनेर गरेको सार्वजनिक निवेदनले तरङ्गित बनाएको सभालाई शिक्षामन्त्री देवकोटाले “मुलुक गरीब भएको हुनाले मागेर सरकार चलाउनुपर्ने अवस्था छ । कति विदेशीहरुसँग हात थापी रहने ? लाजमर्दो भैसक्यो । म्याग्दीबासीले सरकारबाट अपेक्षा राख्नु स्वाभाविक भए पनि तत्काल स्कुलको थप आर्थिक भार बहन गर्न सक्ने अवस्थामा सरकार छैन ” भनीदिनाले बेनीबासीलाई थप निराश बनाएको प्रसङ्ग मेरो स्मरणमा आजसम्म पनि ताजै छ । यथार्थमा म्याग्दीमा स्कूलहरु स्थापना गर्ने शुभकार्यको श्रेय स्वर्गीय सेरबहादुर शेरचनजीलाई जान्छ । दरबाङको स्कुल बेनीका स्कुलहरुभन्दा भन्दा जेठो हो । राखु र दरबाङमा हाइस्कूल बनिसक्दा बेनीमा मिडिल स्कूल मात्र थियो । लामो समय बेनीले केटाकेटीको शिक्षादीक्षाको लागि पारिबेनीमा भर परेको हो । पारिबेनीको स्कुल मल्लाज उक्लेका हो अथवा बन्द भएको हो भन्ने कुरा मेरो जानकारीमा छैन । पारिबेनीको स्कुल बन्द भएपछि बल्ल वारिबेनीले पाठशालाको खाँचो महसुस गरेको हो । बेनीको समाजका प्रथम गुरु स्वर्गीय चक्रबहादुर श्रेष्ठ हुन् । उनलाई समाजले गुरु भनेर चिन्थ्यो । पछि भाष्करानन्दले त्यो सामाजिक उपाधि चक्रबहादुरबाट खोसेका थिए भनिदिँदा फरक पर्दैन । बेनीको समाजमा भाष्करानन्दले साझा गुरुको उपाधि प्राप्त गरेका थिए । बेनीमा अब चक्रबहादुर र भाष्करानन्दको बारेमा जानकारी राख्ने मानिसहरुको अनिकाल परिसकेको छ जस्तो लाग्दछ । कमसेकम कुनै शैक्षिक कार्यक्रममा ती दुबै नाम कतैबाट उच्चारण भएको सुन्न पाउनु दुर्लभ भैसकेको छ । जसरी घरदैलोमै स्कुल ल्याइदिने सेरबहादुर शेरचनलाई पुलाचौरले सम्झँदैन, सम्झनुपर्छ भन्ने आवश्यकतबोध नै गर्दैन, त्यसैगरी गुरुहरुद्वय चक्रबहादुर र भाष्करानन्दलाई बेनीले बिर्सिसकेको छ । स्कूल संस्थापकको नामसूचीमा नाम चढेको छ छैन कुन्नी ? बेनीका हरिनायण भट्टचन, पुलाचौरका डेकबहादुर बानियाँ र सिंगाका “तपाली” भनेर चिनिने एकजना भलाद्मी मिया तिनताका समाजमा चिनिएिका काँग्रेसी कार्यकर्ता मानिन्थे । सेरबहादुरजीको काँग्रेसपार्टीमा राम्रै हैसियत थियो । २०१५ सालको निर्वाचनमा काँग्रेसको तर्फबाट ८७ नं निर्वाचन क्षेत्रको उमेदवारीको टिकट समेत उनैले पाएका थिए । ८७ नम्बरको निर्वाचन क्षेत्रमा वर्तमान मुस्ताङ र म्याग्दी सिङगै समेटिएका थिए । दुर्भाग्यवश सेरबहादुरले जित सुनिश्चित भएको निर्वाचन लड्ने अवसर पाएनन् । अर्का नेता योगेन्द्रमान शेरचनलाई कास्की पोखरामा टिकट मिलाउन नसक्दा विपी कोइरालालाई परेको अप्ठेरो फुकाई दिनका निमित्त पाइसकेको टिकट पार्टीलाई फिर्ता गर्ने उदारता सेरबहादुरले देखाएका थिए भनिन्छ् । हो, त्यही काँग्रेसी हैसियतले सेरबहादुरले खल्तीमा राखेर ल्याउन र बाँड्न मिल्नेगरी म्याग्दी खोलाको लागि दशवटा स्कुलहरुको एकैसाथ स्वीकृति आएको हो भन्न सुनिएको थियो । अपेक्षा र सम्भावनाको कुरा अलग हो, झण्डै सात दशक पछि फर्केर हेर्दा शिक्षाको क्षेत्रमा बेनीबजारले अकल्पनीय फड्को मारेको छ भन्नै पर्छ । यात्राको प्रारम्भ अर्थात जग भने सेरबहादुर शेरचनको त्यही काँग्रेस पार्टीमा रहेको प्रभावशाली हैसियत थियो भन्नु कसैको इतिहास ढोक्न खोजिएको अपराध ठहर्दैन होला । मालिका प्रेस साप्तहिकबाट
प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  ०७:५९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP