म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा विहिवार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको आयोजनामा भएको उक्त कार्यक्रममा आर्थिक बर्ष २०७९÷०८० मा भएका विकास निर्माण, सेवा प्रवाह र सम्पन्न योजना तथा कार्यक्रमहरुको बार्षिक समिक्षा सहित सार्वजनिक सुनुवाई गरिएको हो ।

कार्यक्रममा सहभागी स्थानीयबासीले गाउँपालिकाको विकास बजेटमा चिमखोलालाई उपेक्षा गरिएको, विगतको तुलनामा गाउँपालिकाले बजेट घटाएर पठाएको, गाउँपालिकाबाट गाउँमा भित्रिएको योजनाहरु समेत कार्यान्वयन नभईकन बजेट फिर्ता भएको भन्दै ध्यानकर्षण गराएका थिए । त्यसैगरि सहभागीहरुले जलविद्यूत आयोजनाहरुबाट निस्कने मकिन र पानीको व्यवस्थापन नहुँदा विपद्को जोखिम बढेको, जलविद्युतको सुरुङ खन्ने क्रममा मलाङ क्षेत्रमा पानीको मुहान सुकेको र घरहरु चर्किएको भन्दै वडा र पालिका मार्फत समस्या समाधानमा जलविद्यूत कम्पनीहरुसंग सहजीकरण गर्न माग गरेका छन् । कार्यक्रममा सहभागी कृषकहरुले फलफुलमा रोगकिराको समस्या बढेको, घाँसका बोट विरुवा माग गरेपनि उपलब्ध नभएको , विउ बिजन उपलब्ध नभएको बताउँदै कृषि उपजहरुको लागि चिस्यानगृह बनाउन माग गरेका छन् ।

त्यसैगरि पशुहरुमा कृतिम गर्भाधान सेवाको लागि बजेट विनियोजन भएपनि अहिलेसम्म सेवा सूचारु नभएको ,सामुदायिक स्वास्थ्य इकाईमा फर्निचरको अभाब भएको, आमा समूहको भवनमा भाँडाकुडा र लत्ताकपडाको अभाब रहेको सहभागीहरुको गुनासो थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष थकबहादुर पाईजाले गाउँपालिकाबाट बजेट विनियोजन हुँदा वडाहरुलाई विगतको तुलनामा कम सिलिङ दिएको कारण बिकास बजेटमा उपेक्षा भएको बताउनुभयो । उहाँले रघुगंगाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर बजेट तर्जुमा गरेको र पालिकाको आन्तरिक आम्पादीको स्रोतहरु समेत कम भएकाले विकासतर्फको बजेटको आकार बढ्न नसकेको बताउनुभयो ।

वडा अध्यक्ष पाईजाले जलविद्युत आयोजनाहरुबाट उत्पन्न समस्या समाधानमा निरन्तर ध्यानकर्षण गराउने काम भैरहेको बताउँदै वडाभित्र आउने योजनाहरुको प्रभाबकारी कार्यान्वयनमा जनप्रतिनिधि, कर्मचारी र स्थानीयबासी समेत सक्रिय हुनुपर्ने र सकरात्मक साथ दिन आबश्यक रहेकोमा जोड दिनुभयो । कार्यक्रममा बोल्दै कार्यपालिका सदस्य कुमारी गर्वुजाले सार्वजनिक सुनुवाई कार्यक्रमले जनताका समस्या र गुनासाहरुको पहिचान गर्दै सेवा प्रवाहलाई प्रभाबकारी, विकास निर्माण योजनालाई गुणस्तरीय बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा गाउँपालिकाका लेखा अधिकृत खगराज सुवेदीले सार्वजनिक सुनुवाईले जनतालाई सुसुचित गराउने र जनप्रतिनिधि तथा कर्मचारीलाई जिम्मेवारी र कर्तव्यप्रति जिम्मेवार र जवाफदेही बनाउने बताउनुभयो । उहाँले बजेट निर्माण निश्चित मापदण्ड तथा भुगोल, जनसंख्या र विकासको अवस्था लगायतको आधारहरुमा हुने भएकाले गाउँपालिकाले कुनैपनि निश्चित क्षेत्रलाई उपेक्षा गरेर बजेट विनियोजन नगरेको स्पष्ट पार्नुभयो ।