बेनी ।म्याग्दीका वरिष्ठ कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट डा. पवनकुमार हमालले यस वर्षकाे राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार प्राप्त गर्नुभएकाे छ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनको क्षेत्र अन्तर्गत स्वास्थ्य विधामा उल्लेखनीय योगदान पुर्याएको भन्दै १२औं राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजित कार्यक्रममा शिक्षामन्त्री विद्या भट्टराईले उक्त पुरस्कार प्रदान गर्नुभएकाे हाे ।राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार छनोट तथा सिफारिससम्बन्धी कार्यविधि शिक्षा मन्त्रालयले बनाएको छ। सोही कार्यविधि अनुसार पुरस्कार प्राप्त गर्नेको नाम छनोट गरिएको मन्त्रालयले जनाएको छ।
कार्यविधिमा नवप्रवर्तनु भन्नाले नविनतम विधामा अधिक प्रभावकारी उत्पादन, प्रक्रिया, सेवा, प्रविधि वा व्यवसायिक नमुनाको तर्जुमा, गुणस्तर, डिजाइन, विकास वा नमुना विकासको माध्यमबाट गरिने आविष्कार वा सिर्जना सम्झनु पर्छ र सो शब्दले त्यस्तो आविष्कार वा सिर्जनाबाट पर्न जाने सामाजिक तथा आर्थिक प्रभावलाई समेत जनाउँछ भनेर उल्लेख गरिएको छ। डा हमालले यही क्षेत्रमा योगदान गरेका आधारमा उक्त पुरस्कार प्रदान गरिएको जानकारी मन्त्रालयले दिएको छ।म्याग्दीको रघुगंगा गाउँपालिका -२, निवासी डा हमाल बिरामीको सेवासँगै स्वास्थ्य क्षेत्रको अनुसन्धान र जर्नलहरुको काममा पनि सक्रिय हुनुहुन्छ । डा. हमाल हाल राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत हुनुहुन्छ । दुर्गम जिल्ला जुम्लामा समेत काम गरिसक्नुभएका डा. हमालले डेढ दशकभन्दा लामो समयदेखि नेपालको स्वास्थ्य क्षेत्रमा योगदान गर्दै आउनुभएकाे छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का सहायक डीन समेत रहेका डा. हमालले ६८ स्वास्थ्य सम्बन्धी शैक्षिक कार्यक्रमहरूको विकास, समन्वय र अन्तर्राष्ट्रिय शैक्षिक संस्थानसँग सहकार्य विकास गर्नुभएकाे छ । उहाँ विगत सात वर्षदेखि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सहायक प्रोफेसर भएर स्नातकोत्तर एनेस्थेसियोलोजीका विद्याथीहरूलाई अध्यापन गराउने काममा पनि संलग्न हुनुहुन्छ ।१६ वर्षदेखि चिकित्सा क्षेत्रमा कार्यरत गर्दै डा हमाल नौ वर्षदेखि वरिष्ठ कन्सलटेन्ट एनेस्थेसियोलोजिस्टको रूपमा काम गर्दै गम्भीर रूपका बिरामीहरुको सघन उपचार र एनेस्थेसियोलोजी दुखाइ व्यवस्थापन सेवाहरूको विकासमा योगदान गर्दै आउनुभएकाे छ । डा हमालले कोभिड महामारीको समयमा कम र मध्यम आय भएका देशका लागि कम लागतको भिडियो ल्यारिङ्गोस्कोप विशेष प्रविधि विकास र डिजाइन गरि प्रभावकारिता अनुसन्धान र नवप्रवर्तन गर्नुभएकाे थियाे । उक्त अनुसन्धान र नवप्रवर्तनका विषयमा प्रसिद्ध अन्तर्राष्ट्रिय जर्नल ल्यान्सेटमा प्रकाशित भएको थियो।
नेपालको सरकारी अस्पतालमा पहिलो पटक ट्रमा सेन्टरमा दुखाइ क्लिनिक र स्थापनाकालदेखि सघन उपचार सुविधाको विकाससँगै दुखाइ व्यवस्थापनसँग सम्बन्धित नयाँ प्रविधि स्थापना र सञ्चालन गर्न पनि डा हमालको योगदान रहेको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को जर्नलमा कार्यकारी सम्पादकको रूपमा विगत सात वर्षदेखि काम गर्दै, पबमेड र अन्य अन्तर्राष्ट्रिय एजेन्सीमा इन्डेक्सिङ र अन्तर्राष्ट्रियकरण, गुणस्तर सुधार, अन्तर्राष्ट्रिय एजेन्सीसँग सम्पर्क र समन्वय, स्वास्थ्य अनुसन्धान प्रकाशन विकासमा योगदान र शैक्षिक चोरीलाई निरुत्साहित गर्न काममा पनि उहाँले महत्त्वपूर्ण भूमिका खेल्नुभएकाे छ । डा. हमालले नेपालको एनेस्थेसियोलोजिष्टको सोसाइटीको सहसचिवको रूपमा दुई वर्ष काम गर्दै एनेस्थेसियोलोजी, क्रिटिकल केयर र दुखाइको सेवा विकास, अन्तर्राष्ट्रिय सम्मेलन सञ्चालन र अनुसन्धानका क्षेत्रमा योगदान गर्नुभएकाे छ ।चिकित्सा सम्पादन, एनेस्थेसियोलोजी र दुखाइ व्यवस्थापनको विकासमा धेरै प्रख्यात एजेन्सीहरूको सदस्यको रूपमा आबद्धता र विकासमा योगदान गर्नुभएका डा. हमाल अन्तर्राष्ट्रिय र राष्ट्रिय पियर रिभ्यूड जर्नलमा ४७ वैज्ञानिक प्रकाशनहरू भएका छन्।
प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१ १७:४६