बेनी । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनको लागी म्याग्दीमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट जिल्ला सभापति युवराज रोका मगरलाई उम्मेदवार बनाउने भएको छ ।
बेनी नगरपालिका -४,निवासी युवा नेता रोका मगरलाई उम्मेदवार बनाउन पार्टी केन्द्रले टिकट पठाएको जिल्ला कार्यसमिति सदस्य सन्तोष ढुंगानाले जानकारी दिनुभयो । जिल्लाले सभापति रोकाको मात्र एकल नाम सिफारिस गरेकोमा अन्य दुई जनाले अनलाइन मार्फत उम्मेदवारी दावी पेश गरेका थिए ।
पछिल्लो समय देशव्यापी रास्वपाप्रति नागरिक भरोसा सहित आकर्षण बढेकोले म्याग्दीमा पनि जित्ने सम्भावना उच्च रहेको सदस्य ढुंगानाको दावी छ । बाह्र कक्षा सम्म पढ्नु भएका युवा नेता रोकाले स्थानीय क्लब अध्यक्ष देखि विभिन्न संघ संस्थामा आवद्ध भएर सामाजिक क्रियाकलापमा समेत सक्रिय सहभागी हुँदै आउनुभएको छ। यस अघि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन मगर समेत रास्वपा म्याग्दीबाट चुनावमा उठ्ने चर्चा चलेको थियो ।
प्रकाशित मिति: सोमबार, माघ ५, २०८२ २०:०२