काठमाडौं । लगातारको भारी वर्षापछि काठमाडौंको बाँसबारीमा एउटा साढे दुई तले भवन भासिएको छ । काठमाडौं महानगरपालिका–३ स्थित उक्त भवनमा ‘न्यु गण्डकी गेष्ट हाउस’ सञ्चालन हुँदै आएको थियो ।
बिहीबार साँझ करिब ८ बजे अचानक भवन भासिएपछि आसपासका क्षेत्रमा केही समय त्रासको वातावरण बनेको थियो । केही दिनयता परेको अविरल वर्षाका कारण जमिन कमजोर बनेपछि भवन भासिएको महानगरपालिकाले जनाएको छ ।
घटना हुँदा गेष्ट हाउसमा कोही पनि नरहेकाले मानवीय क्षति हुनबाट जोगिएको छ । भवन भासिएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै आसपासको अवस्थाबारे समेत निगरानी गरिएको महानगरले जनाएको छ ।
वर्षाका कारण जमिनको अवस्था कमजोर बन्दै गएकाले पुराना तथा जोखिमयुक्त संरचनाप्रति थप सतर्कता अपनाउनुपर्ने देखिएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०८३ ११:४७