म्याग्दी । म्याग्दी जिल्ला भलिबल संघको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ । संघको चौथो वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले तेजेन्द्र बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । जिल्ला खेलकुद विकास समिति, म्याग्दीको सभाहलमा सोमबार सम्पन्न अधिवेशनबाट बानियाँ दोस्रो कार्यकालका लागि पुनः अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
अधिवेशनबाट कुमार किसान प्रथम उपाध्यक्ष, राजकुमार भण्डारी द्वितीय उपाध्यक्ष, मलिन कुमार रोका महासचिव तथा मनोज खड्का कोषाध्यक्षमा चयन हुनुभएको छ । त्यस्तै, कार्यसमिति सदस्यहरूमा अशोक कुमार शाही, मुक्तमान केसी, गंगा तिलिजा, चित्र जुग्जाली, देवेन्द्र खत्री र राजिन पुरी चयन भएको संघले जनाएको छ ।
जिल्ला खेलकुद विकास समिति, म्याग्दीका अध्यक्ष सुमन श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले म्याग्दीको भलिबल क्षेत्रलाई थप गतिशील र व्यवस्थित बनाउने दिशामा नयाँ नेतृत्व चयन गरेको हो ।
नवनिर्वाचित अध्यक्ष बानियाँसहितको कार्यसमितिले जिल्लाका विभिन्न क्षेत्रमा भलिबलको पहुँच विस्तार गर्ने, नयाँ प्रतिभाको पहिचान तथा खेलाडी उत्पादनमा जोड दिने र प्रतियोगितामार्फत खेलाडीलाई अवसर प्रदान गर्ने लक्ष्य अघि सारेको छ ।
प्रकाशित मिति: सोमबार, असोज ५, २०८३ २१:४७