काठमाडौं । बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको आंशिक प्रभावका कारण देशभरको मौसम प्रभावित बनेको छ । बिहीबारदेखि सुरु भएको मौसमी प्रणालीका कारण विभिन्न स्थानमा वर्षा भइरहेको छ भने आगामी केही दिन मौसम थप सक्रिय रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना छ । कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा पनि वर्षा र हिमपातको जोखिम रहेको छ ।
काठमाडौँ उपत्यकासहित पूर्वी नेपालदेखि लुम्बिनी प्रदेशसम्म वर्षा भइरहेको छ । पछिल्लो छ घण्टामा काभ्रेमा सबैभन्दा बढी २० मिलिमिटर वर्षा मापन गरिएको महाशाखाले जनाएको छ । भोलि बेलुकादेखि मौसम प्रणाली कमजोर हुँदै जाने र आइतबारदेखि क्रमिक सुधार हुने अनुमान गरिएको छ ।
यसैबीच राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षा, बाढी, पहिरो, चट्याङ, हावाहुरी तथा हिमआँधीको जोखिमलाई मध्यनजर गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ । सम्भावित जोखिमबाट बच्न अनावश्यक यात्रा नगर्न र मौसमसम्बन्धी आधिकारिक सूचना पालना गर्न सम्बन्धित निकायले अनुरोध गरेका छन् ।