बेनी ।नेपाल सरकारले बाढीपहिरोबाट ठूलो क्षति व्यहोरेको म्याग्दीका सबै छवटा स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ। बिहीबार म्याग्दी सहि केहि जिल्लाका केही स्थानीय तहलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो ।
म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा विज्ञान, प्रविधि र नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार बेनी नगरपालिका र अन्नपूर्ण, रघुगङ्गा, मङ्गला, मालिका तथा धवलागिरि गाउँपालिका सङ्कटग्रस्त क्षेत्रमा परेका छन्।
असोज ८ देखि ११ गतेसम्म परेको वर्षापछि आएको बाढीपहिरोले म्याग्दीमा सात जनाको ज्यान गएको छ भने दुई जना बेपत्ता छन्। सडक, घर, खानेपानी, विद्युत्, जलविद्युत् र सिँचाइलगायतका संरचनामा पनि ठूलो क्षति पुगेको छ।
प्रमुख जिल्ला अधिकारी गणेश गैरेका अनुसार सङ्कटग्रस्त क्षेत्र घोषणा भएपछि प्रभावित क्षेत्रको राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारी स्रोत परिचालन गर्न सहज हुनेछ।

