म्याग्दी । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन मनसुनजन्य विपद्बाट प्रभावित क्षेत्रको अवस्था बुझ्न र पुनःनिर्माण तथा पुनःस्थापनाको योजना बनाउन बिहीबार म्याग्दी आइपुग्नुभएको छ । उहाँले जिल्लाका छवटै स्थानीय तहमा पुगेर क्षतिग्रस्त संरचनाको अवस्था अवलोकन गर्ने, प्रभावित नागरिकसँग भेटघाट गर्ने र स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालासँग छलफल गर्ने कार्यक्रम छ ।

असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढी र विभिन्न स्थानमा गएको पहिरोले म्याग्दीमा ठूलो क्षति पुर्याएको छ । गत फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा विजयी हुनुभएका पुन आफ्नै निर्वाचन क्षेत्रका प्रभावित बस्तीको अवस्था बुझ्न आउनुभएको हो ।

मन्त्री पुनले विपद्बाट क्षति पुगेका भौतिक संरचनाको पुनःनिर्माण र घरबास गुमाएका परिवारको पुनःस्थापनालाई प्राथमिकतामा राखेर काम गरिने बताउनुभयो । स्थलगत निरीक्षण, प्रभावित नागरिकका अपेक्षा र सरोकारवालाका सुझावका आधारमा पुनःनिर्माण तथा पुनःस्थापनाको कार्ययोजना तयार गरिने उहाँको भनाइ छ ।
“म्याग्दीका छवटै स्थानीय तहको केन्द्रमा पुगेर विपद्बाट भएको क्षतिको निरीक्षण, प्रभावितसँग भेटघाट र पुनःनिर्माण तथा पुनःस्थापनाका विषयमा छलफल गर्न आएको हुँ,” मन्त्री पुनले भन्नुभयो, “क्षतिग्रस्त संरचनाको पुनःनिर्माण र बाढीपहिरोबाट घरबासविहीन बनेकाहरूको पुनःस्थापनालाई प्राथमिकता दिएर जिल्लाका छवटै स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।”

बिहीबार बिहान बेनीमा प्रमुख जिल्ला अधिकारी गणेश गैरेलगायत सुरक्षा अधिकारीसँग भेटघाट गरेपछि मन्त्री पुन धवलागिरि, मालिका र मंगला गाउँपालिकाका प्रभावित क्षेत्रको निरीक्षणमा निस्कनुभएको थियो । शुक्रबार बेनीमा छलफल गरेपछि रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका प्रभावित क्षेत्रको निरीक्षण तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको उहाँका सम्पर्क व्यक्ति चित्र तिलिजा पुनले जानकारी दिनुभयो ।

मन्त्री बनेपछि पुन दोस्रोपटक आफ्नो निर्वाचन क्षेत्रमा आउनुभएको हो । उहाँ सरकारी सवारीसाधन र सुरक्षाकर्मीको टोलीबिना निजी भ्रमणमा आउनुभएको छ । भ्रमणका क्रममा उहाँको टोलीले भाडाको जिप प्रयोग गरेको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार बाढीपहिरोमा परी म्याग्दीमा सात जनाको मृत्यु भएको छ भने दुई जना अझै बेपत्ता छन् । विपद्बाट जिल्लाभर १११ घर पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ती घरका परिवार विस्थापित भएका छन् । थप ९३ घरमा आंशिक क्षति पुगेको छ भने ३४२ घर पहिरोको उच्च जोखिममा रहेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यका अनुसार सडक, खानेपानी, नदी नियन्त्रण, विद्युत्, सञ्चार, सिँचाइ पूर्वाधार र निजी सम्पत्तिमा अर्बौं रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक विवरण छ ।
प्रारम्भिक मूल्याङ्कनअनुसार बेनी–जोमसोम सडकखण्डमा मात्रै ८० देखि ९० करोड रुपैयाँ बराबरको क्षति भएको छ । बेनी–दरबाङ सडकमा करिब आठ करोड रुपैयाँ र बेनी बजारमा वितरण हुने खानेपानीका संरचनामा आठदेखि १० करोड रुपैयाँ बराबरको क्षति पुगेको छ । त्यस्तै, विद्युत् संरचनामा करिब दुई करोड ५० लाख रुपैयाँको क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।