म्याग्दी ,असोज २१ गते । म्याग्दीको दुर्गम धवलागिरि गाउँपालिका-५ ,मल्कवाङबाट स्वास्थ्यमा जटिलता देखिएकी एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
मल्कवाङ स्वास्थ्य चौकीबाट धवलागिरि गाउँपालिका-४ की २१ वर्षीया सम्झना लामगाडेलाई थप उपचारका लागि सिम्रिक एयरको हेलिकप्टरमार्फत पोखरास्थित गण्डकी अस्पताल पुर्याइएको हो ।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र प्रदेश अस्पताल बेनीसँग समन्वय गरेर उनको उद्धार गरिएको धवलागिरि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो ।
मनसुनजन्य विपद्का कारण विकट मल्कवाङ जोड्ने सडक अवरुद्ध भएकाले तत्काल अस्पताल पुर्याउन हवाई सेवाको सहारा लिनुपरेको हो । गण्डकी प्रदेश सरकारले दुर्गम क्षेत्रका जटिल अवस्थाका गर्भवती तथा सुत्केरीहरूको निःशुल्क हवाई उद्धार गर्दै आएको छ । यसअघि गत आइतबार पनि सोही गाउँपालिका-४ की २३ वर्षीया झरना छन्त्याललाई हेलिकप्टरबाटै उद्धार गरी पोखराको गण्डकी अस्पताल लगेर प्रसूति गराइएको थियो ।