म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–७, शिवाङस्थित हेम नमुना आवासीय माध्यमिक विद्यालयमा आठ कोठे पक्की भवन निर्माण सुरु भएको छ । पुरानो भवनको विकल्पका रूपमा दुई तले नयाँ भवन निर्माण गर्न लागिएको हो । धवलागिरी गाउँपालिका र परोपकारी संस्था पहार ट्रस नेपालको एक करोड २५ लाख रुपैयाँ लागत साझेदारीमा भवन निर्माण हुन लागेको हो । भवनका लागि गाउँपालिकाले ५० लाख र पहार ट्रस नेपालले ७५ लाख रुपैयाँ लगानी गर्ने सम्झौता भएको गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष पुनमगर, वडा अध्यक्ष अशोक खत्री, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरकुमारी बुढाथोकी तथा पहार ट्रस नेपालका प्रतिनिधिहरूको उपस्थितिमा सोमबारदेखि निर्माण कार्य थालिएको हो ।
वि.सं. २०१० मा स्थापना भएको विद्यालयमा बालकक्षादेखि कक्षा १२ सम्म पढाइ हुँदै आएको छ । हाल विद्यालयमा २५२ जना विद्यार्थी अध्ययनरत रहेको व्यवस्थापन समितिका अध्यक्ष बुढाथोकीले बताउनुभयो । भौगोलिक रूपमा विकट तथा अनाथ र विपन्न परिवारका ५२ जना विद्यार्थीलाई झिनडाँडास्थित छात्रावासमा निःशुल्क आवास सुविधा उपलब्ध गराइएको छ । छात्रावासमा नौ जना शिक्षक तथा कर्मचारीले समेत आवासीय सुविधा पाएका छन् ।
विद्यालय परिसरमा रहेको खोल्साबाट बर्खायाममा आउने बाढीको जोखिम न्यूनीकरण गर्न गाउँपालिकाले चालु आर्थिक वर्ष २०८३/०८४ मा थप ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ ।
बेलायतमा दर्ता भएको अन्तर्राष्ट्रिय परोपकारी संस्था पहार ट्रस नेपालले म्याग्दीका ग्रामीण तथा दुर्गम क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ र शैक्षिक गुणस्तर सुधारका क्षेत्रमा सहयोग गर्दै आएको छ । यसअघि संस्थाको सहयोगमा मालिका गाउँपालिकाका भीम मावि पन्थोक, गौबमबस्त मावि मगरदाङ र जनप्रिय मावि दरवाङमा समेत कक्षाकोठा भवन निर्माण गरिएको थियो ।