म्याग्दी । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारमा सुरुङ खनेर आठ जना कैदी फरार भएका छन् । शुक्रबार राति कारागारभित्र सुरुङ निर्माण गरी उनीहरू फरार भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
फरार हुनेमध्ये जबरजस्ती करणीसम्बन्धी मुद्दामा कैद सजाय भोगिरहेका तथा पुर्पक्षका लागि थुनामा रहेका पाँच जना छन्। त्यस्तै, चोरी मुद्दामा कैद भुक्तान गरिरहेका र पुर्पक्षका लागि थुनामा रहेका तीन जना पनि फरार भएको प्रहरीले पुष्टि गरेको छ।
प्रहरीका अनुसार कैदीबन्दीले कारागारभित्र ४ मिटर ६३ सेन्टिमिटर लामो सुरुङ खनेर भागेका हुन् । घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिलराज गिरीको नेतृत्वमा प्रहरी टोली कारागार पुगेको थियो ।
फरार हुनेमा रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१० का राम विक, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का कालिप्रसाद रोकाया, वडा नं. ४ का हरिबहादुर बुढा (धनबहादुर बुढा), सल्यानको कुमाख गाउँपालिका–५ का रेशम राना र जाजरकोटको बारेकोट गाउँपालिका–१ का यज्ञ विक रहेका छन् । उनीहरू जबरजस्ती करणीसम्बन्धी मुद्दाका कैदीबन्दी हुन् ।
यसैगरी चोरी मुद्दामा रहेका जाजरकोटको नलगाड नगरपालिका–९ का कैलाश भन्ने कपिल परियार, रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–५ का तिलक भण्डारी र वडा नं. ३ का आदेश भण्डारी पनि फरार भएका छन् ।
घटनापछि प्रहरीले कारागारको स्थलगत निरीक्षण गर्नुका साथै फरार कैदीहरूको अवस्थाबारे अनुसन्धान अघि बढाएको छ । डीएसपी गिरीले घटनाको वास्तविकता र अन्य विवरण अनुसन्धानपछि मात्रै स्पष्ट हुने बताएका छन् ।
कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) जयराज सापकोटाले पनि आठ जना कैदी फरार भएको पुष्टि गरेका छन् । उनका अनुसार प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख घटनास्थलमै पुगेर घटनाबारे थप अनुसन्धान गरिरहेका छन् ।
कारागारभित्रै सुरुङ खनेर ठूलो संख्यामा कैदी फरार भएपछि कारागारको सुरक्षा व्यवस्थामाथि समेत प्रश्न उठेको छ । घटनाको विस्तृत विवरण र फरार कैदीहरूको खोजीसम्बन्धी जानकारी प्रहरीले थप अनुसन्धानपछि सार्वजनिक गर्ने जनाएको छ ।