बागलुङ, असोज २१ गते । बागलुङको निसीखोला गाउँपालिका–१ देविस्थानस्थित सल्लेरी सामुदायिक वनबाट प्रहरीले सात थान भरुवा बन्दुक बरामद गरेको छ । बुधबार बिहान नियमित गस्तीमा रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङको टोलीले वन क्षेत्रमा रहेको वनमाराको झाडीमा लुकाएर राखिएको अवस्थामा बन्दुक फेला पारेको हो ।
बरामद सबै बन्दुक एकनाले भरुवा बन्दुक हुन् । ती बन्दुकमा काठको कुन्दा प्रयोग गरिएको पाइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बन्दुक कसले, कहिले र के उद्देश्यले जंगलमा लुकाएर राखेको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक याम नारायण कँडेलले बताउनुभयो ।
जंगल तथा ग्रामीण क्षेत्रमा बेवारिसे अवस्थामा रहेका अवैध हातहतियार नियन्त्रणमा लिने अभियानअन्तर्गत प्रहरीले गस्ती र निगरानीलाई तीव्र बनाएको जनाएको छ ।