म्याग्दी । म्याग्दीको बेनीमा चौथो संस्करणको बौद्ध कप खुला फुटबल प्रतियोगिता बुधबारदेखि सुरु भएको छ । बौद्ध युवा क्लबको आयोजनामा बेनीस्थित खुलामञ्च खेलमैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा १४ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन् ।
पाँच दिनसम्म चल्ने प्रतियोगिताको गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले उद्घाटन गर्नुभएको हो । प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबसमेत सहभागी रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बौद्ध युवा क्लबको सेतो समूहलाई पेनाल्टी सुटआउटमा ६–५ गोलले हराउँदै सेभेन स्टार युवा क्लब आनन्दबगरले विजयी सुरुआत गरेको छ । प्रतियोगिताअन्तर्गत बिहीबारको पहिलो खेल नेपाल पुलिस क्लब र मनसुन युवा क्लबबीच हुने क्लबका अध्यक्ष दुर्गा बुढामगरले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुने टोलीले दुई लाख २२ हजार २२२ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीले एक लाख ११ हजार १११ रुपैयाँ पुरस्कार पाउनेछ । त्यस्तै, तेस्रो स्थान हासिल गर्ने टोलीलाई ५५ हजार ५५५ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही सात हजार ७७७ रुपैयाँ पुरस्कार प्रदान गरिने छ । अनुशासित टोलीलाई समेत २२ हजार २२२ रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको क्लबका सचिव श्यामसुन्दर कँडेलले बताउनुभयो ।
प्रतियोगिता सञ्चालनका लागि १६ लाख ५७ हजार ७७२ रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । खेल अवलोकनका लागि दर्शकले ५० रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्नेछ । यसरी संकलन हुने प्रवेश शुल्कको ४० प्रतिशत रकम असोज दोस्रो साताको बाढीपहिरोबाट प्रभावित परिवारलाई राहतस्वरूप उपलब्ध गराइने अध्यक्ष बुढामगरले बताउनुभयो ।
खेलकुद गतिविधिलाई प्रोत्साहन गर्नुका साथै विपद् प्रभावितलाई सहयोग गर्ने उद्देश्यसमेत राखिएको प्रतियोगिताबाट खर्च कटाएर बचत भएको रकम क्लबको कार्यालय भवन निर्माण र कोष स्थापनामा उपयोग गरिने आयोजकको जनाएको छ ।