म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ अन्तर्गत पर्ने बरङ्जामा बसोबास गर्ने मगर समुदाय यतिबेला परम्परागत आगोदेउ पर्व मनाउन व्यस्त छन् । खेतीपातीमा राम्रो उत्पादन होस्, आगलागी तथा अन्य प्राकृतिक विपद्बाट बच्न सकियोस् भन्ने कामनासहित यहाँका मगर समुदायले हरेक वर्ष कुकुर तिहारदेखि तीन दिनसम्म यो पर्व मनाउँदै आएका छन् ।
बरङ्जामा बसोबास गर्ने नौ थरका ५४ कुरिया मगर समुदायले पुस्तौँदेखि मनाउँदै आएको आगोदेउ पर्वलाई आफ्नो मौलिक संस्कृति र धार्मिक आस्थासँग जोडेर निरन्तरता दिँदै आएका छन् ।
खेतीबाली राम्रो उब्जनी होस् र आगजनीजन्य विपद् नहोस् भन्ने कामनासहित प्रकृतिको पूजा गरेर यो पर्व मनाउने प्रचलन रहेको मङ्गला गाउँपालिका–४ का वडाध्यक्ष लालबहादुर रोकाले जानकारी दिनुभयो । परापूर्वकालदेखि चल्दै आएको धार्मिक तथा सांस्कृतिक परम्परालाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले पनि यस पर्वलाई निरन्तरता दिइएको उहाँले बताउनुभयो ।
किम्बदन्तीअनुसार विगतमा बरङ्जाका खेतबारीमा खेतीबाली उत्पादन हुन छाडेपछि देवीदेवताको पूजा आराधना गरिएको र त्यसपछि पुनः उत्पादन हुन थालेको विश्वास छ । यही विश्वाससँगै प्रकृतिको पूजा गर्ने र आगोबाट हुन सक्ने दुर्घटना तथा विपद् टार्ने कामनासहित आगोदेउ पर्व मनाउने परम्परा सुरु भएको स्थानीयको भनाइ छ ।
बरङ्जाको शिलाथुरस्थित थानमा मगर झाँक्रीहरूले विधिपूर्वक पूजाआजा गरेपछि पर्वको औपचारिक सुरुवात हुन्छ । पर्वको दोस्रो दिन साँझ भेडाको साँढलाई पूजा गरी बलि दिने परम्परा छ । सोही दिन आगो बाल्ने र निभाउने विशेष विधि पनि गरिन्छ । तेस्रो दिन कमेरोले रङ्गाइएको ढुङ्गा काटेर पूजाआजा गरेपछि तीनदिने पर्व समापन हुने गर्दछ ।
बरङ्जामा बसोबास गर्ने पुन, घर्ती, रोका, राम्जाली रोका, बझाङ्गे रोका, गाउँथोके घर्ती र बुढाथोकीलगायतका मगर थरहरूले यो पर्व सामूहिक रूपमा मनाउने गरेका छन् । स्थानीय मान्यताअनुसार बाह्रौँ शताब्दीदेखि बरङ्जामा बसोबास सुरु भएयता आगोदेउ पर्व मनाउने परम्परा कायम छ ।
आगोदेउ पर्वसँगै बरङ्जाका मगर समुदायले जेठ महिनामा धुले पर्व पनि विशेष उत्साहका साथ मनाउँछन् । जेठ महिनाको दोस्रो वा तेस्रो साताको मङ्गलबारदेखि तीन दिनसम्म मनाइने धुले पर्वपछि थर्पु गाउँमा परम्परागत मेला आयोजना गर्ने चलन छ ।
हिउँदमा खेतबारी सुक्खा भएर धुलाम्मे हुने र वर्षा सुरु भएपछि खेती गर्न योग्य बन्ने भएकाले वर्षायामको सुरुवातलाई खुसीयालीका रूपमा धुले पर्व मनाउने गरिएको हो ।
प्रकृतिसँगको सम्बन्ध, कृषि जीवनशैली र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक पहिचान बोकेको आगोदेउ र धुले पर्वले बरङ्जाका मगर समुदायको मौलिक परम्परा संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।