म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँस्थित दिपशिखा माध्यमिक विद्यालयको शैक्षिक विकासका लागि सञ्चालन गरिएको श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञमा सवा दुई करोड रुपैयाँभन्दा बढी सहयोग प्राप्त भएको छ । विद्यालयमा आवासीय सुविधासहित अतिरिक्त कक्षा सञ्चालन गर्ने, प्रविधिमैत्री शिक्षण सिकाइलाई प्राथमिकता दिने र शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले गत बिहीबारदेखि महायज्ञ आयोजना गरिएको हो ।

महायज्ञमा सबैभन्दा उल्लेखनीय सहयोग अष्ट्रेलियामा बस्दै आउनुभएका कुहुँ तुसारेपानीका मुक्तिप्रसाद रोकाले गर्नुभएको छ । उहाँले १६ लाख ६६ हजार ६६६ रुपैयाँ विद्यालयलाई सहयोग गर्नुभएको हो । यसअघि स्वर्गीय बुबा गणेशबहादुर र आमा पोविसरा रोकाको स्मृतिमा १५ लाख पाँच हजार ५५५ रुपैयाँ सहयोग घोषणा गर्नुभएका रोकाले स्मृति कोषमा रहेको रकमसमेत विद्यालयको शैक्षिक अभियानमा समर्पण गर्नुभएको छ ।

बुधबार महायज्ञमा सहभागी हुन गाउँ आउनुभएका रोकालाई स्थानीयले बाजागाजा र भजनकीर्तनसहित घरबाट महायज्ञस्थलसम्म ल्याएर सम्मान गरेका थिए । महायज्ञका प्रमुख अतिथिसमेत रहनुभएका रोकाले गाउँकै विद्यालयको शैक्षिक उन्नयनका लागि आफूले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । जिल्ला प्रशासन कार्यालयमा दर्ता रहेको गणेश–पोविसरा स्मृति कोषमार्फत विद्यालयमा वार्षिक रूपमा सञ्चालन हुँदै आएका शैक्षिक तथा खेलकुद कार्यक्रमलाई निरन्तरता दिने र कोषको रकमसमेत वृद्धि गर्ने उहाँले घोषणा गर्नुभएको छ ।

बुधबारसम्म प्राप्त सहयोग प्रतिबद्धताबाट सवा दुई करोड रुपैयाँ जुट्ने निश्चित भएको विद्यालयका प्रधानाध्यापक डा नन्दबहादुर खत्रीले जानकारी दिनुभयो । महायज्ञको समापनसम्म निर्धारित लक्ष्यअनुसार सहयोग संकलन हुने उहाँको विश्वास छ । महायज्ञ सकिएपछि पनि आर्थिक सहयोग संकलन अभियानलाई निरन्तरता दिइने उहाँले बताउनुभयो ।
महायज्ञमा प्रत्यक्ष उपस्थित हुन नसक्ने सहयोगदाताले क्यूआर कोडमार्फत विद्यालयको बैंक खातामा रकम पठाइरहेका छन् । त्यसरी प्राप्त सहयोगको विवरणसमेत संकलन भइरहेको विद्यालयले जनाएको छ ।
धार्मिक तथा आध्यात्मिक गतिविधिसँगै महायज्ञमा दैनिक भक्तजनको उल्लेख्य उपस्थिति देखिएको छ । चौरासी पूजा, तुलादान, ग्रहशान्ति, भागवत पाठपारायण, भजनकीर्तन, आरती, कलशयात्रा तथा झाँकी प्रदर्शनले महायज्ञस्थललाई भक्तिमय बनाएको सहायक प्रधानाध्यापक हरिकृष्ण भट्टराईले जानकारी दिनुभयो ।
पण्डित दीनबन्धु पोखरेलबाट कथावाचन भइरहेको महायज्ञबाट तीन करोड रुपैयाँ संकलन गरी दुई करोड रुपैयाँभन्दा बढी बचत गर्ने लक्ष्य विद्यालयले लिएको छ ।
विद्यालयले संकलित रकमबाट विपन्न तथा भौगोलिक रूपमा विकट क्षेत्रका विद्यार्थीलाई आवासीय सुविधासहित गुणस्तरीय शिक्षा प्रदान गर्ने योजना बनाएको छ । प्रविधिको प्रयोग, अतिरिक्त कक्षा र शैक्षिक कार्यक्रम विस्तार गरी गाउँमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने तथा बालबालिकालाई पढाइका लागि सहरबजार पठाउनुपर्ने बाध्यता कम गर्ने विद्यालयको उद्देश्य छ ।
कक्षा १ देखि १२ सम्म पठनपाठन हुँदै आएको दिपशिखा माध्यमिक विद्यालयमा हाल १९६ जना विद्यार्थी अध्ययनरत छन् । विसं २०१७ मा स्थापना भएको विद्यालयले २०४७ सालदेखि माध्यमिक तह र २०६५ सालदेखि कक्षा ११ र १२ को पठनपाठन सञ्चालन गर्दै आएको छ ।
महायज्ञमा मंगला गाउँपालिकासहित बेनी नगरपालिका तथा मालिका, धवलागिरि र रघुगंगा गाउँपालिकाका विभिन्न शैक्षिक संस्थाका प्रतिनिधि, स्थानीयवासी र भक्तजनको सहभागिता रहेको छ ।