बेनी । म्याग्दीको बेनीमा आयोजित सातौँ अर्थुङ्गे कप फुटसल प्रतियोगिताको उपाधि आयोजक अर्थुङ्गे युवा क्लबले जितेको छ । शनिबार सम्पन्न फाइनलमा अर्थुङ्गे युवा क्लबले थकाली एक्स निलगिरी हार्डवेयरलाई ४–१ गोलअन्तरले हराउँदै उपाधि आफ्नो पक्षमा पारेको हो ।
बेनी नगरपालिका–६, अर्थुङ्गेमा रहेको क्लबले युवालाई खेलकुदमा सहभागी गराउँदै उनीहरूको क्षमता विकास गर्ने र समाज तथा राष्ट्रप्रतिको जिम्मेवारीबोध अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको हो । असोज २३ र २४ गते बेनी फुटसल, शिक्षामार्गमा सञ्चालन भएको प्रतियोगितामा १७ टोलीले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगिताको विजेता अर्थुङ्गे युवा क्लबले नगद एक लाख ११ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता थकाली एक्स निलगिरी हार्डवेयरले ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको क्लबका अध्यक्ष विवेक बानियाँ क्षेत्रीले जानकारी दिनुभयो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित आशिष गुरुङ र उत्कृष्ट गोलरक्षक अञ्जन क्षेत्रीले जनही पाँच हजार रुपैयाँ तथा ट्रफी प्राप्त गरेका छन् । त्यसैगरी अनुशासित टोलीको उपाधि पाएको धुवी बोट एफसीलाई सात हजार रुपैयाँ प्रदान गरिएको आयोजकले जनाएको छ ।
यसअघि निर्धारित समयमा म्याग्दीमा बाढीपहिरोका कारण जनजीवन प्रभावित भएपछि प्रतियोगिताको मिति परिवर्तन गरी नयाँ कार्यतालिकाअनुसार सञ्चालन गरिएको क्लबले जनाएको छ ।
प्रतियोगिता सम्पन्न भएपछि आयव्यय सार्वजनिक गरिने र त्यसबाट बचत भएको रकम सामाजिक कार्यमा खर्च गरिने क्लबका सल्लाहकार विवेक हमालले बताउनुभयो । खेलकुद गतिविधिसँगै सामाजिक तथा मानवीय सेवामा सक्रिय रहँदै आएको क्लबले विगतमा पनि विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।