बेनी ,असोज २२ गते । म्याग्दीमा सातौँ अर्थुङ्गे कप फुटसल प्रतियोगिता भोलिदेखि सुरु हुने भएको छ । युवालाई खेलकुदतर्फ आकर्षित गर्दै समाज र राष्ट्रको आधारशिलाका रूपमा विकास गर्ने उद्देश्यले बेनी नगरपालिका–६,अर्थुङ्गे स्थित अर्थुङ्गे युवा क्लबको आयोजनामा भोलि र पर्सी अर्थात असोज २३ र २४ गते हुने भएको छ । शिक्षामार्ग स्थित बेनी फुटसल मैदानमा संचालन हुने प्रतियोगिता ५ ए साइड फुटसल स्वरूपमा हुनेछ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ पाउने क्लव अध्यक्ष विबेक बानियाँ क्षेत्रीले बताउनुभयो । त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई जनही ५ हजार तथा अनुशासित टिमलाई ७ हजार पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा सहभागी हुन दर्ता शुल्क ५ हजार र धरौटी १ हजार तोकिएको छ ।प्रतियोगितालाई व्यवस्थित र मर्यादित बनाउन खेलका क्रममा लाग्ने पहेंलो कार्ड तथा रातो कार्डसम्बन्धी नियमसमेत लागू गरिने छ । प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ ।