बेनी । म्याग्दीको बेनी नगरपालिका–६ डम्बरा क्षेत्रमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन् । शनिबर साँझ करिब ५ः४० बजे बेनीबाट सिंगातातोपानीतर्फ जाँदै गरेको ग १० प ४९९३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ग प्र ०२००१ प ०५२७ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरीले कार्यलय म्याग्दीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक बेनी नगरपालिका–५ पुलाचौरका १८ वर्षीय अक्टु दर्जी घाइते भएका छन् । उनको बायाँ हात र बायाँ घुँडामा चोट लागेको छ । त्यस्तै, स्कुटर चालक बेनी नगरपालिका–४ घर भई हाल बागलुङ बजार बस्दै आएका ३९ वर्षीय खेम केसीको मुखको चिउँडो र दुवै खुट्टामा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको छ । स्कुटरको पछाडि सवार उनकी १४ वर्षीया छोरी प्रिन्सेस केसीको दायाँ हातमा भित्री चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि घाइते तीनै जनालाई उपचारका लागि प्रदेश अस्पताल बेनी पुर्याइएको छ । घटनाबारे जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट चार जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो । प्रहरीले दुर्घटनामा संलग्न दुवै सवारीसाधन नियन्त्रणमा लिएको जनाएको छ भने दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।