बेनी । म्याग्दीको सदरमुकाम बेनी बजार अन्यत्र सार्ने प्रस्ताव आफूले नराखेको विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री एवं म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुनले स्पष्ट पार्नुभएको छ । बेनी बजारलाई प्राकृतिक विपद्बाट कसरी सुरक्षित राख्ने भन्ने विषयमा भएको छलफललाई गलत अर्थ लगाएर सदरमुकाम सार्ने प्रस्ताव गरिएको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि उहाँले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो ।
जिल्ला प्रशासन कार्यालय म्याग्दीमा शुक्रबार बिहान जनप्रतिनिधि तथा कार्यालय प्रमुखहरूसँग भएको छलफलका क्रममा बेनी बजारको सुरक्षा र वर्तमान अवस्थाबारे चर्चा भएको मन्त्री पुनले बताउनुभएको छ । उहाँका अनुसार बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बजारको अवस्थाबारे जिज्ञासा राखेपछि आफूले त्यस विषयमा राय प्रस्तुत गर्नुभएको थियो । तर, सदरमुकाम सार्ने विषय बैठकको एजेन्डामा नरहेको उहाँको भनाइ छ ।
मन्त्री पुनले बेनी बजारलाई प्राकृतिक प्रकोपबाट जोगाउने विषयमा चिन्ता र छलफल हुनु स्वाभाविक भए पनि त्यसैलाई सदरमुकाम स्थानान्तरणको प्रस्तावका रूपमा प्रचार गर्नु गलत भएको उल्लेख गर्नुभएको छ । “मैले सदरमुकाम सार्नुपर्छ भनेर कुनै प्रस्ताव राखेको छैन,” उहाँले स्पष्ट पार्दै बजारको सुरक्षासम्बन्धी छलफललाई अन्य अर्थमा नबुझ्न आग्रह गर्नुभएको छ ।
हालैको अविरल वर्षापछि बेनी बजारको सुरक्षालाई लिएर चिन्ता बढेको छ । असोज ८ देखि ११ गतेसम्म परेको निरन्तर वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले बेनी नगरपालिका–८ गणेशटोल क्षेत्रमा निर्माण गरिएको पक्की तटबन्ध भत्काएको थियो । त्यस्तै, बेनी बजारको कुनातर्फ रहेको भिरालो पाखामा जमिन चर्किएर पहिरो खस्न थालेपछि सम्भावित जोखिमबारे थप चासो बढेको छ ।
नगर प्रमुख केसीले बेनी नगरपालिकाभित्र भूगर्भविद्सहितको टोलीले गरेको स्थलगत निरीक्षण र बजारको सुरक्षा अवस्थाबारे बैठकमा आफ्नो धारणा राख्नुभएको थियो । बजारको तल्लो क्षेत्रमा कालीगण्डकी र म्याग्दी नदीको कटान तथा माथिल्लो क्षेत्रमा पहिरोको जोखिम रहेकाले त्यसको नियन्त्रण र संरक्षणका विषयमा छलफल भएको जनाइएको छ ।
बैठकमा गण्डकी प्रदेशसभा सदस्यद्वय रेशमबहादुर जुग्जाली र हरिबहादुर भण्डारी, जिल्ला समन्वय समितिकी कार्यवाहक प्रमुख दिलकुमारी खत्री, प्रमुख जिल्ला अधिकारी गणेश गैरेलगायत जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरूको सहभागिता थियो । सहभागीहरूले जिल्लामा भइरहेका गतिविधि, विद्यमान समस्या र आगामी योजनाबारे आ–आफ्ना सुझाव प्रस्तुत गरेका थिए ।
बेनी बजारमा नदी कटान र पहिरोको जोखिम बढ्दै गएकाले बजार संरक्षणका उपायबारे छलफल गर्नुपर्ने भए पनि सदरमुकाम सार्ने विषयमा आफूले कुनै प्रस्ताव नराखेको मन्त्री पुनको स्पष्टीकरणले सदरमुकाम स्थानान्तरणबारे फैलिएको अन्योल हटाउन मद्दत गरेको छ ।