मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको भीषण माइक्रोबस दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् ।
प्रहरीका अनुसार बिहीबार बिहान करिब ६ः१० बजे काठमाडौंबाट सर्लाहीका लागि छुटेको माइक्रोबस अनियन्त्रित भई सडकबाट झन्डै ७०० मिटर तल खसेको थियो । प्रारम्भिक विवरणअनुसार दुर्घटनाका बेला सवारीसाधनमा १५ जना सवार थिए ।
दुर्घटनामा ज्यान गुमाउनेमा पाँच पुरुष, तीन महिला र दुई बालिका रहेका छन् । त्यस्तै, घाइते हुनेमा तीन पुरुष र दुई बालक छन् । घाइतेमध्ये तीन जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
घटनालगत्तै उद्धारका लागि सशस्त्र प्रहरी बलको भीमफेदीस्थित सुरक्षा बेसबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा टोली परिचालन गरिएको थियो । नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले समेत घटनास्थलमा उद्धार कार्य जारी राखेको छ ।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले दुर्घटनामा १० जनाको मृत्यु भएको र पाँच जना घाइते भएको पुष्टि गरेका छन् । दुर्घटना कसरी भयो भन्नेबारे भने हालसम्म कारण खुल्न सकेको छैन । घटनाबारे थप विवरण आउन बाँकी छ ।