बागलुङ, असोज २२ गते । बागलुङको बडिगाड गाउँपालिकामा पिकअप जिप दुर्घटना हुँदा एक वर्षीय बालकसहित पाँच जना घाइते भएका छन् । बडिगाड गाउँपालिका–७, टुनिबोटस्थित भित्री सडकमा बिहीबार दिउँसो करिब पौने ४ बजे दुर्घटना भएको हो ।
रणसिङकिटेनीबाट शिखर हाईड्रोपावरतर्फ जाँदै गरेको प्रदेश ३–१–०२२ च ८८८५ नम्बरको बोलरो पिकअप अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल भिमखोलामा खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा पिकअप चालक स्याङ्जाको गल्याङ नगरपालिका–८ का ३० वर्षीय हिमाल श्रेष्ठ, दोलखाको दोलखा नगरपालिका–६ का ३५ वर्षीय रमेश कुमार जिरेल घाइते भएका छन् ।
यस्तै, बडिगाड गाउँपालिका–७ का एक वर्षीय आरुष पाईजा, २० वर्षीय अमृत पाईजा र २० वर्षीय सन्दिप गुरुङ पनि दुर्घटनामा घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख फणिन्द्र प्रसाइँले जानकारी दिनुभयो । दुर्घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।