म्याग्दी,असोज २० गते । हालैको मनसुनजन्य विपद् र बाढीपहिरोका कारण क्षतविक्षत बनेको चिन र भारत जोड्ने कालीगण्डकी कोरिडोर अन्तर्गतको बेनी–जोमसोम–कोरला सडक खण्ड मर्मत कार्य तीव्र पारिएको छ । असोज दोस्रो साताको भारी वर्षाका कारण २ सय २ किलोमिटर दुरीको यस सडकखण्ड अन्तर्गत ५० भन्दा बढी ठाउँमा पहिरो गएको थियो भने १० ठाउँमा कालीगण्डकी नदीले सडक नै कटान गरेर बगाएको थियो।पर्वतको कुश्मा नगरपालिका–१, पाङदेखि म्याग्दी हुँदै चीनको सिमाना कोरला नाका जोड्ने यो सडक व्यावसायिक र पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण मानिन्छ।
बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माका अनुसार, आगामी सोमबारसम्म सवारी साधन सञ्चालन गर्न सकिने गरी म्याग्दीको रघुगंगा गाउँपालिका–२ कुनौटादेखि अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर खण्डको करिब १२ किलोमिटर दुरीमा मर्मत कार्य तीव्र रूपमा भइरहेको छ।‘वर्षा रोकिनेबित्तिकै असोज १२ गतेदेखि नै चीनको कोरला नाकातर्फबाट म्याग्दीको भुरुङ्ग–तातोपानीसम्म दुई दिनमै सडक खुलाएका थियौँ,’ शर्माले भन्नुभयो, ‘मालढुङ्गा तर्फबाट बेनी–बैसरी हुँदै कुनौटासम्मको करिब २५ किलोमिटर सडक पनि सोमबार साँझसम्म मर्मत भइसकेको छ।’
इन्धन अभाव टार्न ड्रोन र नेपाली सेनाको सहयोग
कुनौटा क्षेत्रमा कालीगण्डकीले करिब २५० मिटर सडक कटान गरेपछि पैदल आवतजावतसमेत चुनौतीपूर्ण बनेको थियो। सुरुवाती चरणमा राहुघाट जलविद्युत आयोजनाको विद्युतगृह परिसरमा नयाँ ट्रयाक खोल्नुपर्ने र सडक अवरुद्ध हुँदा इन्धन ढुवानी गर्ने ठुलो चुनौती थियो।तर, नेपाली सेना, स्वयंसेवक र ड्रोनको आधुनिक सहायताले इन्धनको व्यवस्थापन गरिएको आयोजनाले जनाएको छ। मानिसले बोकेर लैजान असम्भव भएपछि सोमबार ड्रोनमार्फत ६ पटक उडान गरी ४ सय लिटर डिजेल पहिरो पार गराइएको थियो। इन्धन उपलब्ध भएपछि कुनौटाभन्दा माथिल्लो क्षेत्रमा पनि मेसिनहरू परिचालन गरी काम सहज बनाइएको छ।
-1791294753.jpeg)