म्याग्दी । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी कोरिडोरसहितका संरचनाको स्थलगत निरीक्षण गर्नुभएको छ । उहाँले पर्वत, बागलुङ र म्याग्दीका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दै पुनर्निर्माणका लागि बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।
मन्त्री लम्सालले मालढुङ्गा पुल, पर्वतको फर्से बस्ती, बेनी खानेपानी आयोजना, सिंगा तातोपानी कुण्ड र बेनी–दरवाङ सडकअन्तर्गत फापरखेतको पहिरो निरीक्षण गर्नुभएको थियो ।
निरीक्षणका क्रममा उहाँले विपद्बाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा रहेको बताउँदै छिटो सर्वेक्षण र लागत अनुमान तयार गरी बजेट माग गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।
कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माका अनुसार बाढीपहिरोबाट सडकमा ८० देखि ९० करोड रुपैयाँसम्म क्षति पुगेको छ भने पुनर्निर्माणका लागि तीनदेखि चार अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ ।
यसैगरी, फापरखेत पहिरो नियन्त्रणका लागि संघीय सरकारले चालु आर्थिक वर्षमा चार करोड रुपैयाँ विनियोजन गरेको छ । प्रदेश सरकारले पखेर–सिमलचौर जोड्ने सडक पुल निर्माणका लागि दुई करोड रुपैयाँ विनियोजन गरेको छ ।
मन्त्री लम्सालले बेनी खानेपानी आयोजना र सिंगा तातोपानी कुण्डको पुनर्निर्माणका लागि व्यवस्थित योजना बनाएर बजेट माग गर्न सम्बन्धित प्रतिनिधिलाई आग्रह गर्नुभयो । निरीक्षण टोलीमा पर्वतका सांसद सागर भुषाल र बागलुङ–२ का सांसद सोम शर्मा पनि सहभागी हुनुहुन्थ्यो ।