म्याग्दी । कालीगण्डकी नदीमा आएको बाढीले पहुँच सडक बगाएपछि १६ दिनदेखि अवरुद्ध पर्वत र बागलुङ जोड्ने मालढुङ्गा पुल सोमबारदेखि सञ्चालनमा आएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने पुल सञ्चालनमा आएसँगै बागलुङ हुँदै पश्चिमतर्फ जाने सवारीसाधनको आवागमन सहज बनेको छ ।
गत असोज ११ गतेको बाढीले पुलको पहुँच सडकमा क्षति पुर्याएपछि सवारी आवागमन बन्द भएको थियो । पहुँच सडकको मर्मत सम्पन्न भएपछि पुल सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय पोखराका इन्जिनियर ध्रुव पोखरेलले जानकारी दिनुभयो ।
पुल अवरुद्ध हुँदा धवलागिरि क्षेत्रका विभिन्न जिल्लाको यातायात सेवा प्रभावित भएको थियो । विशेषगरी दसैँ–तिहारजस्ता चाडपर्वको समयमा मुख्य सडकमार्ग बन्द हुँदा यात्रुले लामो र घुमाउरो वैकल्पिक सडक प्रयोग गर्नुपर्ने तथा महँगो भाडा तिर्नुपर्ने बाध्यता थियो ।
सडक अवरुद्ध हुँदा सामान ढुवानीसमेत प्रभावित भएको थियो । बागलुङ हुँदै काठमाडौँ जाने तथा लुम्बिनी र कर्णाली प्रदेशका पहाडी जिल्लाबाट सञ्चालन हुने लामो दूरीका बस सेवासमेत प्रभावित भएका थिए । ढुवानीमा आएको अवरोधले बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्न थालेको थियो ।
पुल बन्द भएपछि साना सवारीसाधनले पर्वतको दोबिल्लाबाट फलेवास र जैमिनीघाट हुँदै कालीगण्डकी करिडोरको वैकल्पिक मार्ग प्रयोग गर्दै आएका थिए । केही सवारीसाधनले मालढुङ्गाबाट म्याग्दीको बेनी बजार र रत्नेचौर हुँदै बागलुङसम्म यात्रु ओसारपसार गरेका थिए ।
त्यस्तै, मालढुङ्गा नजिकैको खनियाघाटस्थित झोलुङ्गे पुलबाट पैदल यात्रु वारपार गर्ने गरेका थिए । साना सवारीसाधनमा खनियाघाट पुग्ने यात्रु झोलुङ्गे पुल तरेपछि अर्को सवारीसाधन चढेर बागलुङ बजार पुग्नुपर्ने अवस्था थियो ।
मालढुङ्गा पुल पुनः सञ्चालनमा आएपछि यात्रुको आवतजावत, सार्वजनिक यातायात र मालसामान ढुवानी तथा दसैँको आवतजावत सहज बनेको छ ।