म्याग्दी, असोज २१ गते । बाढीपहिरोले बेनी–जोमसोम–कोरला सडक अवरुद्ध भएपछि म्याग्दीमा आवतजावत र अत्यावश्यक सामग्री ढुवानीका लागि वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ । रघुगंगा गाउँपालिकाले राहुघाटदेखि मौवाफाँट, पिप्ले, भगवती र बेग हुँदै बेगखोलासम्म जोडिने सडक मर्मत गरी मंगलबारदेखि सञ्चालनयोग्य बनाएको हो ।
वैकल्पिक मार्ग खुलेसँगै जिप, मोटरसाइकल र ट्र्याक्टरमार्फत इन्धन, खाद्यान्न, राहत सामग्रीलगायत दैनिक उपभोग्य वस्तु ढुवानी गर्न सकिने भएको छ । कालीगण्डकीको बाढीले कुनौटा क्षेत्रमा मुख्य सडक कटान गरेपछि वैकल्पिक मार्गको आवश्यकता परेको थियो । गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीका अनुसार यस मार्गले बाढीबाट प्रभावित अन्नपूर्ण क्षेत्रका बासिन्दालाई समेत आवतजावतमा राहत पुर्याउनेछ ।
यसअघि २०७२ सालको बैसरी पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध हुँदा पनि बेग–बेगखोला सडक वैकल्पिक मार्गका रूपमा प्रयोग भएको थियो । यसैबीच, असोज ११ गतेदेखि अवरुद्ध २०२ किलोमिटर लामो बेनी–जोमसोम–कोरला सडकको अधिकांश भाग मर्मत भइसके सडक योजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार ५५ स्थानमा अवरोध देखिएकामा ५३ स्थानमा मर्मत सम्पन्न भएको छ भने कुनौटा र पोखरेबगर पुलको पहुँचमार्गमा काम बाँकी छ ।
आगामी सोमबारसम्म मुख्य सडकमा यातायात सञ्चालन गर्ने लक्ष्यसहित उपकरण र जनशक्ति परिचालन गरेर मर्मतलाई तीव्रता दिइएको छ ।