म्याग्दी, २२ असोज गते । बाढीले सडक नै बगाएपछि यातायात सम्पर्क टुटेको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको कुनौटा भिरमा चार दिनको निरन्तर प्रयासपछि मार्ग छिचोलिएको छ । मार्ग खुलेसँगै चीनको कोरला नाकातर्फको सडकलाई पूर्णरूपमा सञ्चालनमा ल्याउने कामले गति लिएको छ ।
रघुगंगा गाउँपालिका–२ कुनौटामा असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले करिब २५० मिटर सडक कटान गरी बगाएपछि उक्त खण्डमा पैदल आवतजावतसमेत जोखिमपूर्ण बनेको थियो । सडक योजनाले दुईतर्फबाट एक्साभेटर र टिप्पर परिचालन गरी माटो भर्ने, सतह मिलाउने र सडकको स्वरूप तयार पार्ने काम गरेको हो ।
बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माका अनुसार कुनौटामा मार्ग जोडिए पनि सवारीसाधन सहज रूपमा सञ्चालन हुने बनाउन अझै एक–दुई दिन काम गर्नुपर्नेछ । बुधबार मात्रै कुनौटामा छ वटा एक्साभेटर र त्यति नै संख्यामा टिप्पर परिचालन गरिएको थियो ।
बाढीपहिरोका कारण अवरुद्ध बनेका अन्य अधिकांश स्थानमा प्रारम्भिक मर्मत सकिएको योजनाले जनाएको छ । पोखरेबगरमा कालीगण्डकीले बगाएको सडक पुलको पहुँचमार्ग निर्माण भने जारी छ ।
कुश्मा नगरपालिका–१ पाङदेखि म्याग्दीको बेनी हुँदै चीनको कोरला नाकासम्म जोडिने २०२ किलोमिटर सडक असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि आएको बाढीपहिरोका कारण ५५ स्थानमा अवरुद्ध भएको थियो । बाढीले मात्रै १० स्थानमा सडक कटान गरी क्षति पु¥याएको थियो ।
हाल मालढुङ्गादेखि कुनौटा तथा कोरलादेखि पोखरेबगरसम्म ठूला सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी सडक मर्मत गरिएको छ । पोखरेबगर–कुनौटा खण्डका रातोपानी, धिरच्याङ, भिरकाटे, महभिर, तिप्ल्याङ र बेगखोलामा पहिरो पन्छाउनेसँगै नयाँ ट्र्याक खोलिएका स्थानमा ग्रेड, घुम्ती र सडकको चौडाइ मिलाउने तथा खाल्डाखुल्डी पुर्ने काम भइरहेको छ ।
पोखरेबगरमा पुललाई सडक सञ्जालसँग जोड्न ग्यावियन पर्खाल निर्माण भइरहेको छ । सडक योजनाका प्राविधिक विनोद पौडेलका अनुसार आगामी सोमबारसम्म उक्त स्थानबाट पनि सवारीसाधन सञ्चालन गर्ने लक्ष्यसहित मजदुर र उपकरण परिचालन गरिएको छ ।
राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह परिसरमा कालीगण्डकीले सडक कटान गरेपछि त्यसको विकल्पमा नयाँ मार्ग निर्माण गरिएको छ । इन्धन अभावका कारण सुरुआतमा काम प्रभावित भए पनि नेपाली सेना, स्वयंसेवक र ड्रोनको सहयोगमा ढुवानी तथा सापटीमार्फत इन्धन व्यवस्थापन भएपछि काम निरन्तर भइरहेको आयोजनाले जनाएको छ ।
सडक विभाग र निर्माण व्यवसायीका १५ एक्साभेटर, १२ टिप्पर र १५ लोडरसहित जनशक्ति परिचालन गरी विभिन्न स्थानमा एकैसाथ काम भइरहेको संघीय सडक सुपरीवेक्षण आयोजना पोखराका प्रमुख नरेन्द्र सुवेदीले बताउनुभयो ।
उहाँका अनुसार आर्थिक वर्ष २०७३र७४ मा निर्माण सुरु भएको यस सडकमा यसपटकको विपद्ले हालसम्मकै ठूलो क्षति पु¥याएको छ । बाढीपहिरोबाट सडकमा करिब रु। ८० देखि ९० करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ भने पुनर्निर्माणका लागि करिब रु। तीन अर्ब आवश्यक पर्ने सडक विभागले जनाएको छ ।
रसुवा र तातोपानी नाका बन्द रहेकाले चीनसँगको व्यापारका लागि कोरला नाका पछिल्लो समय झनै महत्वपूर्ण बनेको छ । सडक छिटो सञ्चालनमा ल्याउन उच्च प्राथमिकताका साथ काम भइरहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताउनुभयो ।
सडक सञ्चालनमा ढिलाइ हुँदा काठमाडौंलगायतका सहरतर्फ चीनबाट सामान बोकेर आएका करिब पाँच सय कन्टेनर गन्तव्यतर्फ जान पर्खिरहेका छन् । मुस्ताङको स्याउ बजार पठाउने समय सुरु भइसकेको छ भने दसैँ–तिहारका लागि भेडाच्याङ्ग्रा बजार झार्ने समय पनि नजिकिएको छ ।