म्याग्दी, असोज २१ गते । चाडपर्वलाई लक्षित गर्दै पर्यटक तथा ग्रामीण भेगका सर्वसाधारणलाई सुरक्षित र सहज यात्रा गराउने उद्देश्यले बुधबार म्याग्दीको सदरमुकाम बेनीस्थित कालीपुल बसपार्कमा यात्रु सहायता कक्षा स्थापना गरिएको छ ।
दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले कालीपुलस्थित ट्राफिक प्रहरी कार्यालय परिसरका साथै मालिका गाउँपालिकाको केन्द्र दरबाङमा यात्रु सहायता कक्षा सञ्चालनमा ल्याएको हो ।

म्याग्दी भित्रिने मुख्य स्थलमार्गको नाकाका रूपमा रहेको कालीपुल बसपार्कबाट जिल्लाका विभिन्न ग्रामीण क्षेत्र तथा बाहिरी जिल्लाका लागि लामो र छोटो दूरीका यातायातका साधन सञ्चालन हुँदै आएका छन् ।
चाडपर्वको समयमा सर्वसाधारणसँगै मुस्ताङ आवतजावत गर्ने तीर्थयात्री तथा स्वदेशी–विदेशी पर्यटक र यातायात व्यवसायीलाई आवश्यक सहयोग तथा सहजीकरण गर्न सहायता कक्षा स्थापना गरिएको प्रहरी नायव उपरीक्षक राजन कार्कीले बताउनुभयो । पर्व अवधिभर सहायता कक्षमा नियमित रूपमा सुरक्षाकर्मी परिचालन गरिनेछ ।

सहायता कक्षा उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्री र प्रमुख जिल्ला अधिकारी गणेश गैरेले चाडपर्वका बेला यात्रुलाई सुरक्षित र सहज रूपमा गन्तव्यसम्म पुग्ने वातावरण बनाउन यातायात व्यवसायी तथा सुरक्षाकर्मीलाई आग्रह गर्नुभयो ।
यात्राका क्रममा कुनै समस्या परेमा वा आपराधिक गतिविधिबारे जानकारी भएमा यात्रु सहायता कक्ष वा प्रहरीको १०० नम्बरमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।