म्याग्दी । सशस्त्र प्रहरी बल, नेपाल गुल्म म्याग्दीले विभिन्न रचनात्मक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी आफ्नो आठौँ स्थापना दिवस मनाएको छ । राष्ट्र र नागरिकको सेवामा समर्पित सशस्त्र प्रहरीको योगदानको चर्चा गर्दै आयोजित समारोहमा उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई सम्मान तथा पुरस्कारसमेत प्रदान गरिएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रविण कडेरको प्रमुख आतिथ्यतामा स्थापना दिवस विशेष कार्यक्रम सम्पन्न भएको हो ।

समारोहलाई सम्बोधन गर्दै बाहिनीपति कडेरले राष्ट्रिय सुरक्षा, शान्ति सुव्यवस्था र विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बलले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले सीमा सुरक्षा तथा विपद्का समयमा नागरिकको उद्धार र सुरक्षाका लागि सशस्त्र प्रहरी अग्रपंक्तिमा खटिँदै आएको उल्लेख गर्दै आगामी दिनमा अझ व्यावसायिक, जिम्मेवार र जनताप्रति उत्तरदायी भएर कार्यसम्पादन गर्न निर्देशन दिनुभयो ।
कार्यक्रममा गुल्मपति तथा सशस्त्र प्रहरी नायव उपरीक्षक लोकेन्द्र सुब्बाले गुल्म स्थापना भएदेखि हालसम्म म्याग्दी जिल्लाको शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न तथा विपद्का घटनामा उद्धार र राहतका कार्यमा पुर्याउँदै आएको योगदानबारे जानकारी गराउनुभयो ।
-1793032160.jpeg)
उहाँले सशस्त्र प्रहरी बल नागरिकको सुखदुःखको साथीका रूपमा निरन्तर खटिरहेको उल्लेख गर्दै प्राकृतिक विपत्ति तथा अन्य आपत्कालीन परिस्थितिमा समेत जिल्लावासीको जीउधनको सुरक्षा गर्न प्रहरी जनशक्ति उच्च मनोबलका साथ तयार रहेको बताउनुभयो ।
स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्ने तथा विभिन्न विधाका खेलकुद प्रतियोगितामा विजयी हुने सशस्त्र प्रहरी कर्मचारीलाई सम्मान र पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा सांस्कृतिक प्रस्तुतिसमेत समावेश गरिएको थियो ।

जिल्लास्थित सुरक्षा निकायका प्रमुख, सरकारी कार्यालयका प्रतिनिधि, राजनीतिक दलका नेता, पत्रकार तथा स्थानीय बासिन्दाको उपस्थिति रहेको समारोहले सशस्त्र प्रहरी बलको व्यावसायिकता, सेवाभाव र नागरिकसँगको सम्बन्धलाई थप सुदृढ बनाउने सन्देश दिएको छ ।
सशस्त्र प्रहरी बल गुल्म म्याग्दीले स्थापना दिवसका अवसरमा आफ्नो जिम्मेवारी र उपलब्धिको स्मरण गर्दै आगामी दिनमा समेत जिल्लाको शान्ति सुरक्षा, विपद् प्रतिकार्य तथा नागरिकको सुरक्षामा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।