बेनी । म्याग्दीको बेनी नगरपालिका–४ स्थित सिंगा र तातोपानी क्षेत्रमा गरिएको बजार अनुगमनका क्रममा म्याद गुज्रिएका ८ हजार ४३० रुपैयाँ बराबरका वस्तु बरामद गरिएको छ । एकीकृत सेवा कार्यालय म्याग्दीको नेतृत्वमा बिहीबार गरिएको अनुगमनका क्रममा २३ वटा पसलको निरीक्षण गरिएको हो ।

अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, बेनी नगरपालिका, प्रहरी र उद्योग वाणिज्य संघका प्रतिनिधिहरू सहभागी थिए । उपभोक्ताको स्वास्थ्यमा असर पर्न सक्ने म्याद नाघेका वस्तु बिक्रीमा रोक लगाउने तथा बजारमा उपभोग्य वस्तुको गुणस्तर कायम गर्ने उद्देश्यले अनुगमन गरिएको एकीकृत सेवा कार्यालयकी प्रमुख मिता थापामगरले जानकारी दिनुभयो ।

उपभोक्ताको हित संरक्षण, व्यवसायीलाई जिम्मेवार बनाउने र बजारमा अनुचित व्यापारिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले आगामी दिनमा पनि अनुगमनलाई निरन्तरता दिइने उहाँले बताउनुभयो ।
चाडपर्व नजिकिँदै गर्दा बजारमा अखाद्य तथा म्याद गुज्रिएका वस्तुको बिक्री हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै अनुगमनलाई तीव्रता दिइएको कार्यालयले जनाएको छ ।