बेनी । म्याग्दीको बेनीमा आयोजित चौथो बौद्ध कप खुला फुटबल प्रतियोगिताको उपाधि एभरग्रिन युथ क्लबले जितेको छ । आइतबार बेनीको खुलामञ्चमा भएको फाइनल खेलमा मितेरी युवा क्लब दुखुबेसीलाई ३–० गोलले हराउँदै एभरग्रिनले उपाधि कब्जा गरेको हो ।
खेलको सुरुवातदेखि नै प्रतिस्पर्धात्मक बनेको फाइनलमा एभरग्रिनले पहिलो हाफमा एक गोल गर्दै अग्रता लिएको थियो । खेलमा फर्कने प्रयासमा रहेको मितेरीले गोल गर्ने अवसर सिर्जना गर्न नसक्दा एभरग्रिनले दोस्रो हाफको अन्त्यतिर थप दुई गोल गर्दै जित सुनिश्चित गर्यो ।

च्याम्पियन बनेसँगै एभरग्रिनले दुई लाख २२ हजार दुई सय २२ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता मितेरीले एक लाख ११ हजार एक सय ११ रुपैयाँ पुरस्कार पाउँदा तेस्रो स्थान हासिल गरेको पश्चिम म्याग्दी युवा क्लबले ५५ हजार पाँच सय ५५ रुपैयाँ हात पारेको छ । पश्चिम म्याग्दीले तेस्रो स्थानको खेलमा मनसुन युवा क्लबलाई पराजित गरेको थियो ।
प्रतियोगितामा अनुशासित टोलीको सम्मान बेनी नगरपालिका–२ स्थित बरबुटा युवा क्लबले प्राप्त गरेको छ । क्लबले २२ हजार दुई सय २२ रुपैयाँ पुरस्कार पाएको छ । बिजेतालाई गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठ, क्लव अध्यक्ष दुर्गा बुढामगरले वितरण गर्नुभएको थियो ।
व्यक्तिगत विधातर्फ पनि एभरग्रिनका खेलाडीको वर्चस्व रह्यो । रोशन क्षेत्री प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भए भने अशोक केसीले उत्कृष्ट गोलरक्षकको उपाधि जिते । निरजन खत्री उत्कृष्ट मिडफिल्डर बने । मितेरीका सुदीप गुरुङ उत्कृष्ट डिफेन्डर र अमृत तामाङ उत्कृष्ट फरवार्ड घोषित भए । प्रतियोगिताभर नौ गोल गरेका पश्चिम म्याग्दीका विपुल कार्की सर्वाधिक गोलकर्ता बने । उत्कृष्ट खेलाडीलाई नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
बेनी नगरपालिका–७ मङ्गलाघाटस्थित बौद्ध युवा क्लबको आयोजनामा पाँच दिनसम्म सञ्चालन भएको प्रतियोगितामा १८ टोलीले सहभागिता जनाएका थिए । प्रतियोगितामा ए डिभिजन क्लबका खेलाडी तथा विदेशी खेलाडीको सहभागिताले खेलको स्तर र प्रतिस्पर्धा थप रोमाञ्चक बनेको थियो ।
दसैँ–तिहारको अवसर पारेर आयोजना गरिएको प्रतियोगिताबाट सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई समेत जोडिएको छ । खेल अवलोकनका लागि प्रतिव्यक्ति ५० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको थियो । संकलित रकमको ४० प्रतिशत असोजको दोस्रो साताको बाढीपहिरोबाट प्रभावित परिवारलाई राहतस्वरूप उपलब्ध गराइने आयोजकले जनाएको छ ।
बौद्ध युवा क्लबका अध्यक्ष बुढामगरका अनुसार प्रतियोगिता सञ्चालनबाट बचत हुने रकम क्लबको कार्यालय भवन निर्माण र संस्थागत कोष स्थापनामा उपयोग गरिने छ । बागलुङ, म्याग्दी, पर्वत र मुस्ताङ समेटिएको धौलागिरि क्षेत्रमा आयोजना हुने फुटबल प्रतियोगितामध्ये बौद्ध कपको पुरस्कार राशि सबैभन्दा ठूलो रहेको उहाँले बताउनुभयो ।
२०६४ सालमा स्थापना भएको क्लबले खेलकुद प्रतियोगितासँगै सामाजिक तथा सामुदायिक गतिविधि सञ्चालन गर्दै आएको छ । यसअघि प्रतियोगिताको पहिलो संस्करण जनप्रिय दरबाङ, दोस्रो संस्करण माउन्ट एभरेष्ट अफ्रिकन युनाइटेड र तेस्रो संस्करण आयोजक बौद्ध युवा क्लबले जितेका थिए । चौथो संस्करणमा भने एभरग्रिन युथ क्लबले नयाँ विजेताका रूपमा आफ्नो नाम स्थापित गरेको छ ।