म्याग्दी । वैदेशिक रोजगारीको सिलसिलामा साइप्रसमा रहेका म्याग्देलीहरूलाई संगठित गर्दै आपसी एकता, सहकार्य र सामाजिक सेवाको भावना अभिवृद्धि गर्ने उद्देश्यले म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति साइप्रस गठन गरिएको छ । साइप्रसमा आयोजित म्याग्देलीहरूको भेलाले रघुगंगा गाउँपालिका–१, बेगखोलाकी दुत कुमारी थजाली (दिवा)को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
नवगठित समितिको उपाध्यक्षमा सुस्मा श्रेष्ठ र मन्जु पाईजा, महासचिवमा शान्ति पुर्जा (साएरा), सचिवमा ज्ञानी पुर्जा र कोषाध्यक्षमा एष्टर गर्बुजा चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरूमा सोनी गर्बुजा, रिमाया गर्बुजा, रोश्मी गर्बुजा, कल्पना तामाङ, कमल पाईजा, पवित्रा विसीलगायत रहनुभएको छ । खेलकुद संयोजकमा पूर्व राष्ट्रिय खेलाडी पवित्रा विसी र सांस्कृतिक संयोजकमा सोनी गर्बुजा चयन हुनुभएको अध्यक्ष थजालीले जानकारी दिनुभयो ।
नवनिर्वाचित अध्यक्ष थजालीका अनुसार साइप्रसमा रहेका म्याग्देलीबीच आपसी सद्भाव, मित्रता र भाइचाराको सम्बन्ध बलियो बनाउँदै खेलकुद तथा सामाजिक गतिविधिमा सहकार्य गर्ने लक्ष्यसहित समिति गठन गरिएको हो । विदेशमा रहेका नेपालीलाई सुखदुःखमा एकअर्काको साथ र सहयोग उपलब्ध गराउने तथा समस्यामा परेका जिल्लावासीलाई आवश्यक सहयोग गर्ने संस्थाको प्रमुख उद्देश्य रहेको उहाँले बताउनुभयो ।
मोना साइप्रस यसअघि सन् २०२० मा लोकराज रोकाको अध्यक्षतामा स्थापना भएको थियो । अहिले गठन गरिएको राष्ट्रिय कार्यकारी समितिले संस्थागत गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउने संस्थाको मुख्य उद्देश्य रहेको छ । यसैबीच, मोना अन्तर्राष्ट्रियका अध्यक्ष मिम पुर्जाले साइप्रसमा मोना राष्ट्रिय कार्यकारी समिति गठन भएकोमा बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले साइप्रसमा रहेका सम्पूर्ण म्याग्देलीलाई संस्थामा आबद्ध भई एकता र सहकार्यको अभियानमा जोडिन आग्रह गर्नुभएको छ ।
विश्वका विभिन्न मुलुकमा छरिएर रहेका म्याग्देलीलाई एउटै साझा संस्थामार्फत जोड्ने अभियानअन्तर्गत अन्य देशहरूमा समेत मोना गठन तथा विस्तारको प्रक्रिया अघि बढाइएको अध्यक्ष पुर्जाले बताउनुभएको छ ।