म्याग्दी । नेपाली कांग्रेस म्याग्दीले अविरल वर्षाबाट प्रभावित अन्नपूर्ण गाउँपालिका–५,का पीडित परिवारलाई २ लाख ६४ हजार रुपैयाँ नगद सहयोग गरेको छ । असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षाले प्रभावित पाउँद्वार, किन्दु, धल्सेखोरिया र बिस्नेखर्कका स्थानीयवासीलाई उक्त रकम प्रदान गरिएको पार्टीले जनाएको छ ।

यसैगरी दोस्रो चरणमा अन्नपूर्ण गाउँपालिका–८,का २६ घरपरिवारलाई एकमुस्ट १ लाख रुपैयाँ र परिवारका सदस्य गुमाएका दुई परिवारलाई एकमुस्ट १४ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ । त्यसैगरी बेनी नगरपालिका–३, भक्मिलीका परिवारका सदस्य गुमाएका दुई परिवारलाई पनि १४ हजार रुपैयाँ गरी कुल १ लाख २८ हजार रुपैयाँ वितरण गरिएको हो ।
जिल्ला पार्टी सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’, जिल्ला उपसभापतिद्वय हरिकुमार श्रेष्ठ र केवी भण्डारी, पार्टी विपद् व्यवस्थापन समिति संयोजक नेत्रबहादुर महत लगायतले पीडित परिवारलाई सहयोग रकम वितरण गर्नुभएको थियो ।
जिल्ला सचिव भरत रकालका अनुसार जिल्लाका अन्य प्रभावित क्षेत्रको पनि तथ्याङ्क सङ्कलन भइरहेको छ । तथ्याङ्क सङ्कलन सकिएपछि सबै प्रभावित क्षेत्रमा समानुपातिक रूपमा राहत वितरण गरिनेछ । जिल्ला प्रशासन र स्थानीय सरकारको तथ्याङ्कलाई आधार मानेर राहत वितरण गरिरहेको पार्टीले जनाएको छ ।