म्याग्दी, असोज २१ गते । म्याग्दीको मङ्गला गाउँपालिका–५, छिस्बाङस्थित खहरे बस्ती अहिले बस्ती जस्तो देखिँदैन । केही दिनअघिसम्म घर, गोठ, खेतबारी र स्थानीयको दैनिकीले भरिएको ठाउँ अहिले बाढीले थुपारेको ढुङ्गामाटो र बालुवाको बगरमा परिणत भएको छ ।
-1791349458.jpeg)
असोज ११ गते बिहान आएको भीषण बाढीले खहरेका नौ घर पूर्ण रूपमा ध्वस्त बनाएको छ । २२ भन्दा बढी घरमा आंशिक क्षति पुगेको छ । बाढीले चार सय रोपनीभन्दा बढी धानखेत पुरिनुका साथै स्थानीय मिल, पसल र गोठसमेत बगाएको छ । बस्तीभन्दा करिब चार किलोमिटर माथि पाङ्ग्रा वनमा गएको पहिरो खहरे खोलामा मिसिएपछि ठूलो बाढी आएको स्थानीय बताउँछन् । खोलामा आएको भेल कल्भर्टमा थुनिएर बस्तीको दिशातर्फ मोडिँदा क्षति झनै ठूलो भएको हो ।
-1791349577.jpeg)
बाढीको भेल अचानक बस्तीमा पस्दा स्थानीय टंकप्रसाद घर्तीले रुखबाट हामफालेर ज्यान जोगाउनुपरेको थियो । ‘गत आइतबार बिहान करिब ५ बजे बाढी आएपछि रुखबाट हामफालेर ज्यान जोगाएँ । दुईवटा घर, गोठ र अन्नपात सबै पुरियो’, घर्तीले पीडा सुनाउँदै भन्नभयो ।
-1791349656.jpeg)
शारीरिक रूपमा अशक्त ८४ वर्षीय उनका बुबा नरबहादुर घर्ती मगरलाई भने स्थानीय युवाले बाढीको भेलबाट बोकेर उद्धार गरेका थिए । घरबारविहीन बनेपछि टंकप्रसादको परिवार अहिले आफन्तको आश्रयमा छन् । तत्काल बसोबास, खाद्यान्न र लत्ताकपडाको व्यवस्था गरिदिन उनले स्थानीय सरकारसँग आग्रह गरेका छन् ।

बाढीबाट सबैभन्दा बढी प्रभावितमध्येका पूर्णप्रसाद पुनका छोरा देवेन्द्र पुनका लागि घर र खेत दुवै गुम्नुको पीडा उस्तै छ । बाढीले खेत र घर नष्ट गरेपछि खोलाको बहाव तत्काल फर्काउन डोजर चलाउनुपर्ने अवस्था भए पनि त्यसका लागि आवश्यक डिजेलको खर्च जुटाउनसमेत कठिन भएको उहाँले बताउनुभयो ।
-1791349774.jpeg)
अर्की पीडित गौदेवी पुनको अवस्था पनि उस्तै छ । बाढीले घरसँगै बाख्रा, कुखुरा र खेतबारीसमेत बगाएपछि उनको परिवारका अगाडि अब बस्ने ठाउँ र खानेकुराको चिन्ता थपिएको छ । बाढीबाट विस्थापित केही परिवार अहिले आफन्तको घरमा छन् भने केहीले शारदा माध्यमिक विद्यालयमा आश्रय लिएका छन् ।

खहरे टोल सुधार समितिका अध्यक्ष तथा पीडित तुलप्रसाद पुनका अनुसार खोलामाथिको पुल तथा कल्भर्टमा बाढी थुनिएपछि भेल बस्तीमा सोझिएको थियो । त्यसक्रममा घर, गोठ, अन्नपात र खेतबारीमा ठूलो क्षति पुगेको हो । पुनले बाढीबाट प्रभावित परिवारको तत्काल व्यवस्थापनसँगै दीर्घकालीन समाधान खोज्न सङ्घ, प्रदेश र स्थानीय सरकारसँग आग्रह गरेका छन् । उहाँका अनुसार नदी नियन्त्रण, कल्भर्ट व्यवस्थापन र बस्तीको दीर्घकालीन पुनस्र्थापना तत्काल आवश्यक छ ।
-1791349881.jpeg)
बाढीबाट पूर्ण रूपमा घर क्षति भएका परिवारमा तुलप्रसाद पुन, मेखबहादुर पुन, पूर्णप्रसाद पुन, देवान घर्ती, नरबहादुर घर्ती, गौदेवी पुन, सरोज विक, जितबहादुर पुन र श्यामप्रसाद विक रहेका छन् । उनीहरूका घर मात्रै होइन, धेरै परिवारको जीविकाको मुख्य आधार बनेको खेतबारी, पशुपन्छी र अन्य सम्पत्तिसमेत बाढीले नष्ट गरेको छ ।

बाढीपीडितका लागि प्रारम्भिक चरणमा हेलिकप्टरमार्फत राहत सामग्री पठाइसकिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताउनुभयो । अहिले सडकमार्गबाट समेत प्रभावित क्षेत्रमा पहुँच पुगेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीयको मुख्य माग बस्ती संरक्षण र नदी नियन्त्रणका लागि तटबन्ध निर्माण गर्नु रहेको छ ।
-1791350045.jpeg)
घरबारविहीन बनेका परिवारलाई तत्काल अस्थायी आश्रयको व्यवस्था गर्नुका साथै पुनर्निर्माणको योजना अघि बढाउने तयारी भइरहेको छ । तर खहरेका बासिन्दाका लागि राहतले मात्रै पुग्ने अवस्था छैन । उनीहरूलाई सुरक्षित बास, खेतीयोग्य जमिनको संरक्षण र भविष्यमा यस्तै विपद् दोहोरिन नदिने गरी खोलाको बहाव व्यवस्थापन आवश्यक छ ।
-1791350092.jpeg)
अहिले खहरेमा बाँकी छ बाढीले बगाएका घरका भग्नावशेष, पुरिएका खेत र भविष्यको चिन्तामा रहेका परिवार । केही दिनअघिसम्म जीवनको आधार बनेको यही ठाउँ अहिले उनीहरूका लागि पुनः सुरुवात गर्नुपर्ने चुनौती बनेको छ ।



