म्याग्दी । पुन मगर समाज यूके र नेपाल पुन मगर समाजले बाढीपहिरोबाट प्रभावित परिवार तथा जटिल रोगबाट पीडितलाई १६ लाख ७४ हजार ३७५ रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

गत असोज ८ देखि १२ गतेसम्मको अविरल वर्षापछि आएको बाढीपहिरोबाट प्रभावित म्याग्दी, बागलुङ र पर्वतका परिवारलाई राहत तथा पुनःस्थापनाका लागि १५ लाख १९ हजार ३७५ रुपैयाँ वितरण गरिएको हो । त्यसैगरी पर्वतका एक मिर्गौला रोगीलाई उपचारका लागि एक लाख ५५ हजार रुपैयाँ सहयोग गरिएको छ ।

समाजले बाढीपहिरोमा ज्यान गुमाएका म्याग्दीका ११ परिवारलाई प्रतिपरिवार २५ हजार र बागलुङका प्रभावित मृतक परिवारलाई प्रतिपरिवार १० हजार रुपैयाँका दरले आर्थिक सहयोग गरेको छ। पर्वतका बाढीपहिरो प्रभावितका लागि दुई लाख ५० हजार रुपैयाँ उपलब्ध गराइएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका विभिन्न बस्तीका विस्थापित तथा प्रभावित परिवारलाई समेत राहत वितरण गरिएको छ । पाउद्वार, गगनपानी, गिबाङ, शिख, किन्दु, घरखे खोरे, स्वाँत, काफलडाँडा, राम्चे, महभीर, ठूलो बगर, भुरुङ तातोपानी र नारच्याङका प्रभावितलाई सहयोग प्रदान गरिएको हो ।
त्यसैगरी विपद् व्यवस्थापन तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन रघुगंगा गाउँपालिकालाई ५० हजार तथा मंगला र मालिका गाउँपालिकालाई २५–२५ हजार रुपैयाँ सहयोग गरिएको छ ।
अन्नपूर्ण गाउँपालिकामा आयोजित राहत हस्तान्तरण कार्यक्रममा जनप्रतिनिधि तथा दुवै संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । पुन मगर समाज यूकेका अध्यक्ष तुलचन्द्र तिलिजाले विपद्मा परेका समुदायलाई सहयोग गर्न हातेमालो गर्ने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि मानवीय सेवाका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।
बाढीपहिरोबाट प्रभावित परिवारको तत्कालीन राहत र पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले दुवै संस्थाले संयुक्त रूपमा आर्थिक सहयोग गरेको हो ।