म्याग्दी, असोज २१ गते । असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरोले म्याग्दीमा ठूलो भौतिक क्षति पु¥याएको छ । विपद्मा सात जनाको मृत्यु भएको छ भने दुई जना अझै बेपत्ता भएको जिल्ला प्रशासन कार्यालयका म्याग्दीले जनाएको छ ।
प्रशासनले मंगलबार सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार जिल्लाभर १११ घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने ९३ घरमा आंशिक क्षति पुगेको छ । ३४२ घर उच्च जोखिममा परेका छन् । बाढीपहिरोबाट सडक, खानेपानी, विद्युत्, सञ्चार, सिँचाइ, नदी नियन्त्रणलगायतका सार्वजनिक पूर्वाधारसँगै निजी सम्पत्तिमा अर्बौं रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक आकलन छ ।

प्रमुख जिल्ला अधिकारी गणेश गैरेले सुरक्षा निकायका प्रमुखको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा क्षतिको विवरण सार्वजनिक गर्नुभएको हो । उहाँका अनुसार बेनी–जोमसोम सडकखण्डमा मात्रै रु. ८० देखि ९० करोड र बेनी–दरबाङ सडकखण्डमा करिब रु. ८ करोड बराबरको क्षति भएको छ । बेनी बजारमा वितरण हुने खानेपानीका संरचनामा रु. ८ देखि १० करोड तथा विद्युत् संरचनामा करिब रु. २ करोड ५० लाखको क्षति पुगेको प्रशासनले जनाएको छ ।
पूर्वसतर्कता र सावधानीका कारण मानवीय क्षति कम गर्न सकिए पनि भौतिक क्षति ठूलो भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक राजन कार्कीले बताउनुभयो । विपद्पछि खोज, उद्धार तथा राहतका लागि तीनै तहका सरकार, सुरक्षा निकाय, जनप्रतिनिधि र विभिन्न संघसंस्था परिचालन भएका छन् ।
बाढीपहिरोले नेपाल टेलिकमको अप्टिकल फाइबरमा क्षति पुर्याएपछि सञ्चार सेवा प्रभावित भएको छ । तीनवटा टावरमा इन्धन अभाव हुँदा सेवा सञ्चालनमा समेत समस्या देखिएको प्रशासनले जनाएको छ । विद्युत् आपूर्ति अवरुद्ध भएपछि शिख, पुनहिल, पोखरेबगर, घोरेपानी र बेगखोलालगायतका ग्रामीण क्षेत्र प्रभावित छन् ।
सडक सम्पर्क टुटेका अन्नपूर्ण गाउँपालिकाका क्षेत्रमा हेलिकप्टरमार्फत तीन सयभन्दा बढी घरपरिवारलाई राहत सामग्री पुर्याइएको छ । जोखिममा परेका दुई गर्भवती र दुई गम्भीर बिरामीलाई पनि हेलिकप्टरबाट उद्धार गरी अस्पताल पुर्याइएको प्रजिअ गैरेले जानकारी दिनुभयो ।
हाल विस्थापित परिवारलाई स्थानीय विद्यालय, सामुदायिक भवन तथा आफन्तको घरमा राखिएको छ । पूर्णरूपमा घर गुमाएका परिवारका लागि अस्थायी आवासको व्यवस्था गर्न बलिया टेन्ट उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको प्रशासनले जनाएको छ ।
क्षतिग्रस्त पूर्वाधार मर्मतलाई तीव्रता दिइएको छ भने हाल बेनी–दरबाङ–मुना र बेनी–जोमसोम सडकको बैसरीसम्मको खण्ड सञ्चालनमा आएको प्रशासनले जनाएको छ ।
बाढीपहिरो प्रभावित क्षेत्रको भौगर्भिक जोखिम अध्ययनअन्तर्गत बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकामा टोलीले अध्ययन पूरा गरेको छ । अन्नपूर्ण, मालिका, मङ्गला र धवलागिरि गाउँपालिकाका जोखिमयुक्त क्षेत्रमा पनि थप अध्ययन गराउने तयारी भइरहेको छ ।
प्रजिअ गैरेका अनुसार तत्कालीन राहत तथा उद्धारसँगै अब विस्थापित परिवारको दीर्घकालीन पुनःस्थापना, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र प्रभावितको जनजीवन सामान्य अवस्थामा फर्काउने कामलाई प्राथमिकता दिइनेछ ।