म्याग्दी । भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारको राहत र पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले म्याग्दी उद्योग वाणिज्य संघले आर्थिक सहयोग गरेको छ । संघले बाढीपीडितको सहयोगार्थ नेपाल उद्योग वाणिज्य महासंघको विपद् कोषमा १ लाख ५१ हजार रुपैयाँ जम्मा गरेको हो । उक्त रकम संघका अध्यक्ष एवं महासंघका केन्द्रीय सदस्य सुविन श्रेष्ठले महासंघका अध्यक्ष अञ्जन श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको थियो ।
बाढीका कारण प्रभावित बनेका नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै दीर्घकालीन पुनःस्थापनामा समेत सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक सहायता प्रदान गरिएको संघले जनाएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, वस्तुगत तथा एसोसिएट सदस्य, स्वदेशी तथा विदेशी कम्पनी र व्यावसायिक संस्थाहरूबाट विपद् कोषमा संकलित रकम सरकारसँगको समन्वयमा परिचालन गर्ने जनाएको छ । प्रभावित क्षेत्रका नागरिकको वास्तविक आवश्यकता पहिचान गरी राहत तथा पुनःस्थापनाका कार्यक्रम सञ्चालन गरिने महासंघको भनाइ छ ।
यसअघि पनि म्याग्दी उद्योग वाणिज्य संघले विपद्मा परेका नागरिकलाई सहयोग गर्दै आएको छ । गत असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षाका कारण म्याग्दीका विभिन्न स्थानमा बाढीपहिरोबाट प्रभावित परिवारलाई लक्षित गरी महासंघ र म्याग्दी उद्योग वाणिज्य संघको संयुक्त पहलमा १२ लाख रुपैयाँ बराबरका खाद्यान्न तथा सोलार बत्ती वितरण गरिएको थियो । स्थानीय सरकारमार्फत प्रभावित परिवारसम्म राहत सामग्री पुर्याइएको संघले जनाएको छ ।
विपद्का समयमा प्रभावित समुदायलाई साथ दिने र मानवीय सेवामा योगदान पुर्याउने उद्देश्यले संघले सामाजिक उत्तरदायित्वअन्तर्गत राहत तथा सहयोगका गतिविधिलाई निरन्तरता दिँदै आएको छ ।