म्याग्दी । नेपालीको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज काग तिहार मनाइँदै छ । कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने यस पर्वमा बिहानै कागको पूजा गरी मिठा खानेकुरा खुवाउने धार्मिक तथा सांस्कृतिक परम्परा रहेको छ ।
धार्मिक मान्यताअनुसार कागलाई यमराजको दूतका रूपमा लिइन्छ । कागमार्फत यमराजसमक्ष शुभ समाचार पुगोस् भन्ने विश्वासका साथ पूजा गरी खानेकुरा अर्पण गर्ने चलन छ ।
सूर्योदयकालमा त्रयोदशी तिथि परेका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय मान्यताअनुसार यस वर्ष शनिबार पर्व मनाउन लागिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष डा. पुरुषोत्तम भट्टराईले बताउनुभायो ।
काग तिहारको अवसरमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिरलगायत देशका विभिन्न स्थानमा पूजाआराधना गरिँदैछ । तिथिको घटबढका कारण यस वर्ष शुक्रबार साँझदेखि नै यमपञ्चक सुरु भएको हो । शुक्रबार धनतेरस मनाइनुका साथै परिवारका सदस्यको नाममा यमदीपदान गर्ने परम्परासमेत सुरु भएको छ ।
कागको पूजा गरेर सुरु हुने तिहारमा क्रमशः कुकुर तिहार, लक्ष्मीपूजा, गोवर्धन पूजा र भाइटीका मनाइन्छ । भाइटीकासँगै पाँच दिनसम्म मनाइने यमपञ्चक समापन हुने धार्मिक मान्यता छ ।