म्याग्दी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अवसरमा खेलिने देउसी–भैलो कार्यक्रमलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन विभिन्न निर्देशन जारी गरेको छ । प्रशासनले सूचना जारी गर्दै देउसी–भैलो कार्यक्रम राति १० बजेसम्म मात्रै सञ्चालन गर्न आग्रह गरेको हो ।
चाडपर्वको सांस्कृतिक तथा धार्मिक महत्त्वलाई कायम राख्दै शान्ति सुरक्षा, सार्वजनिक सुव्यवस्था र सामाजिक सद्भाव सुनिश्चित गर्न जिल्ला प्रशासन कार्यालयले सबै नागरिक, क्लब, संघसंस्था, आयोजक तथा सरोकारवालालाई आवश्यक सहयोग र समन्वय गर्न अनुरोध गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यद्वारा जारी सूचनाअनुसार देउसी–भैलो कार्यक्रममा सहभागी हुने व्यक्तिहरूले मादक पदार्थ सेवन गर्न पाउने छैनन् । साथै, संवेदनशील क्षेत्रमा विशेष सावधानी अपनाउनुपर्ने र ध्वनि प्रदूषण हुने गरी ठूलो आवाजमा माइक तथा लाउडस्पिकर प्रयोग गर्न नपाइने उल्लेख गरिएको छ ।
त्यसैगरी, कसैको घर, निजी आवास, कार्यालय, व्यावसायिक प्रतिष्ठान वा अन्य स्थानमा देउसी–भैलो खेल्न जाँदा घरधनी वा सम्बन्धित व्यक्तिको पूर्वस्वीकृति लिनुपर्ने प्रशासनले जनाएको छ । अनुमति नलिई जबर्जस्ती कार्यक्रम सञ्चालन गर्ने, चन्दा वा दक्षिणा माग्ने तथा दबाब दिने कार्य गर्न निषेध गरिएको छ ।
प्रशासनले भुइँचम्पा, आतसबाजी, रकेट, पटाका लगायतका विस्फोटक पदार्थको प्रयोग, ओसारपसार, बिक्रीवितरण तथा भण्डारण नगर्न पनि सचेत गराएको छ । सडक, चोक, गल्ली, फुटपाथ तथा सार्वजनिक स्थानमा सवारी आवागमन र पैदलयात्रीलाई अवरोध पुग्ने गरी कार्यक्रम सञ्चालन गर्न नपाइने सूचनामा उल्लेख छ ।
त्यस्तै, जातजाति, धर्म, भाषा, संस्कृति तथा विभिन्न समुदायबीच घृणा, द्वेष र अपमान फैलाउने खालका गीत, नारा, व्यवहार तथा गतिविधि गर्न निषेध गरिएको छ । बालबालिकालाई असुरक्षित स्थानमा लैजाने वा जोखिमपूर्ण गतिविधिमा संलग्न गराउने कार्य नगर्न पनि प्रशासनले आग्रह गरेको छ ।
देउसी–भैलो कार्यक्रम सञ्चालन गर्ने समूह, क्लब, संघसंस्था तथा आयोजकले आवश्यकताअनुसार स्थानीय तह र नेपाल प्रहरीसँग समन्वय गर्नुपर्ने प्रशासनको भनाइ छ । कुनै विवाद, आगलागी, शंकास्पद गतिविधि वा अप्रिय घटना भएमा तत्काल नजिकको प्रहरी कार्यालय वा प्रहरीको हटलाइन नम्बर १०० मा जानकारी गराउन अनुरोध गरिएको छ ।
जारी निर्देशनविपरीत सार्वजनिक शान्ति सुरक्षा, सामाजिक सद्भाव तथा सार्वजनिक सम्पत्तिमा असर पुग्ने गतिविधि गरेमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत प्रशासनले दिएको छ ।
चाडपर्वलाई सभ्य, सुरक्षित, शान्तिपूर्ण र उल्लासमय बनाउन जिल्ला प्रशासन कार्यालय म्याग्दीले सम्पूर्ण जिल्लावासीलाई सहयोग गर्न आग्रह गरेको छ ।
