म्याग्दी, असोज ३ गते । नेपाली कांग्रेस म्याग्दीका जिल्लाभरका ४५ वडामध्ये शनिबार १६ वडामा वडा अधिवेशन सम्पन्न भएको छ । बाँकी २९ वडामा आइतबार अधिवेशन हुँदैछ ।
अन्नपूर्ण गाउँपालिकाका वडा नं. ३, ४, ६ र ७ तथा मालिका गाउँपालिकाका वडा नं. १, २, ३ र ६ मा वडा अधिवेशन सम्पन्न भएको जिल्ला सचिव भरत रकालले जानकारी दिनुभयो ।
त्यसैगरी धवलागिरी गाउँपालिकाका वडा नं. ३, ६ र ७, रघुगंगा गाउँपालिकाका वडा नं. २ र ३, बेनी नगरपालिकाका वडा नं. ५ र ९ तथा मंगला गाउँपालिकाको वडा नं. ५ मा पनि नयाँ नेतृत्वसहित वडा कार्यसमिति चयन गरिएको छ ।
नेपाली कांग्रेस म्याग्दीका जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले शनिबार सम्पन्न वडाका अधिवेशनजस्तै आइतबार हुने बाँकी वडाका अधिवेशन पनि मर्यादित, सहमतिमूलक, उत्साहजनक र लोकतान्त्रिक ढंगले सम्पन्न गर्न नेता तथा कार्यकर्तालाई आह्वान गर्नुभएको छ ।
उहाँले अधिवेशनलाई पार्टीको आन्तरिक लोकतन्त्र सुदृढ गर्ने अवसरका रूपमा लिएर आपसी समझदारी र सहकार्यका साथ अघि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।