म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माण सम्पन्न भएको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाले मंगलबारदेखि परीक्षण उत्पादन सुरु गरेको छ । आयोजनाका दुवै युनिट सञ्चालनमा ल्याएर उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो । रघुगङ्गा हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाले बाँध, डिसेण्डर, मुख्य सुरुङ, स्विचयार्डलगायतका भौतिक संरचना तथा विद्युतगृहमा जडान गरिएका उपकरणको परीक्षण सम्पन्न गरेपछि विद्युत उत्पादन सुरु गरेको जनाएको छ । २०र२० मेगावाट क्षमताका दुवै युनिट सञ्चालन गरेर परीक्षणका रूपमा राष्ट्रिय प्रणालीमा विद्युत जोडिएको आयोजना प्रमुख राजबहादुर बिष्टकाले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजना सञ्चालनका लागि आवश्यक प्रमुख संरचना र उपकरणको परीक्षण सफल भएपछि परीक्षण उत्पादनको चरणमा प्रवेश गरिएको हो । राहुघाट जलविद्युत आयोजनाको निर्माण यात्रा भने लामो र चुनौतीपूर्ण रह्यो । विसं २०६६ मा भारतीय ठेकेदार कम्पनी आईभिआरसिएलसँग ठेक्का सम्झौता भए पनि कम्पनीको कमजोर आर्थिक अवस्थाका कारण विसं २०७२ मा ठेक्का तोडिएको थियो । त्यसपछि नयाँ प्रक्रियाबाट आयोजना निर्माण अघि बढाइएको हो । ४५ महिनामा आयोजना सम्पन्न गर्ने लक्ष्यसहित सन् २०१७ नोभेम्बर १७ अर्थात् विसं २०७४ मंसिर ६ गते भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोसियट्स (जेपी)सँग करिब ६ अर्ब रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । जेपीले विसं २०७५ असारबाट पहुँचमार्ग निर्माण तथा २०७६ असारबाट मुख्य सुरुङ खन्ने काम सुरु गरेको थियो । निर्धारित समयभित्र काम पूरा हुन नसकेपछि आयोजनाको म्याद पटक–पटक थप गरिएको थियो । चौथो पटक थपिएको समयभित्र आयोजना निर्माण सम्पन्न भएको हो । कोरोना महामारी, बाढी, पहिरो तथा नदीजन्य निर्माण सामग्रीको अभावलगायतका कारण आयोजना निर्माणमा ढिलाइ भएको रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले बताउनुभयो । आयोजनाको इलेक्ट्रोमेकानिकलतर्फ भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)सँग विसं २०७६ कात्तिकमा करिब १० करोड २९ लाख अमेरिकी डलर बराबरको ठेक्का सम्झौता भएको थियो । आयोजनाको बाँध रघुगङ्गा गाउँपालिका–४ दग्नाम तथा वडा नम्बर ५ झिँको फेदी क्षेत्रमा निर्माण गरिएको छ । आयोजनामा ६ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ तथा दुईवटा पानी थिग्राउने पोखरी निर्माण भएका छन् । तिल्केनीचौरमा विद्युतगृह निर्माण गरिएको छ भने विद्युतगृह परिसरमा स्विचयार्डसमेत निर्माण गरिएको छ । आयोजनाबाट उत्पादित विद्युत कालीगण्डकी करिडोरअन्तर्गतको २२० केभी डबल सर्किट दाना–कुश्मा प्रसारण लाइनमा जोड्न आवश्यक प्रसारण संरचना निर्माण गरिएको छ । विद्युतगृह देखि प्रसारण लाइनसम्म जोड्न चारवटा टावर निर्माण गरिएको आयोजनाले जनाएको छ । राहुघाट आयोजनाले वार्षिक २४ करोड ५ लाख ९३ हजार ३४ युनिट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ । आयोजनाले विसं २०७५ चैतमा विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) गरेको थियो । नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानी तथा भारतीय एक्जिम बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋणमा आयोजना अघि बढाइएको हो । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडले आयोजना प्रवर्द्धन गरेको हो । लामो समयदेखि निर्माणाधीन रहेको राहुघाटले परीक्षण उत्पादन सुरु गरेसँगै राष्ट्रिय प्रसारण प्रणालीमा थप ४० मेगावाट विद्युत जोडिने चरण सुरु भएको छ ।