म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित मिस्त्रीखोलामा बगेर एक बालिकाको मृत्यु भएको छ भने अर्की बालिका बेपत्ता भएकी छन् । मंगलबार खोलाले बगाउँदा नारच्याङकी ६ वर्षीया अनिशा बुढामगरको मृत्यु भएको हो । सोही घटनामा परेकी ३ वर्षीया कृष्टिका बुढामगर अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
दाउरा खोज्न गएका अभिभावकको पछि लागेर खोला क्षेत्रमा पुगेका बालिकाहरूलाई पानीले बगाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक भुपेन्द्र गोतामेले जानकारी दिनुभयो । घटनापछि खोजी गर्ने क्रममा अनिशाको शव फेला परेको छ भने कृष्टिकाको खोजी कार्य जारी छ । बेपत्ता बालिकाको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी परिचालन भएका छन् । मृतक अनिशा र बेपत्ता कृष्टिका दुई बहिनीका छोरी रहेको बताइएको छ ।
यसैबीच, स्थानीयवासीले मिस्त्रीखोला जलविद्युत आयोजनाले पूर्वसूचना नदिई बाँधबाट अचानक पानी छोड्दा घटना भएको आरोप लगाएका छन् । बिहान खोलामा पानी सुकेको अवस्थामा जलविद्युत आयोजनाबाट एक्कासि पानी छोडिएपछि बालिकाहरू बगाएको नारच्याङका स्थानीय तमबहादुर चोचाङ्गी पुनले बताउनुभयो ।
घटनाको वास्तविक कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक गोतामेले जानकारी दिनुभयो । बेपत्ता बालिकाको खोजी कार्य पनि जारी रहेको प्रहरीले जनाएको छ ।