बेनी । पूर्व राष्ट्रिय भलिबल खेलाडी तथा म्याग्दी जिल्ला भलिबल टोलीका पूर्वकप्तान मुन्ना केसीको ५५ वर्षको उमेरमा निधन भएको छ । गत कात्तिक १० गते उपचारका क्रममा प्रदेश अस्पताल बेनीमा निधन हुनुभएका केसीको शनिबार कालीगण्डकी नदी किनारमा धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको हो ।
अन्तिम बिदाइका क्रममा म्याग्दी जिल्ला भलिबल संघले उहाँको पार्थिव शरीरमा संघको झण्डा ओढाएर सम्मानसहित श्रद्धाञ्जली अर्पण गरेको थियो । अन्त्येष्टि कार्यक्रममा जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठ, समितिका निवर्तमान अध्यक्ष दिनेश केसी, संघका पदाधिकारी तथा पूर्व र वर्तमान खेलाडीहरूको उपस्थिति रहेको थियो ।
केसीले विसं २०५० को आसपास म्याग्दी जिल्ला भलिबल टोलीको कप्तानको जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँले जिल्लाभित्र आयोजना हुने प्रतियोगितादेखि विभिन्न स्थानमा सञ्चालन हुने क्लबस्तरीय प्रतियोगितासम्म सहभागिता जनाउँदै आफ्नो खेलकौशल प्रदर्शन गर्नुभएको थियो ।
खेलाडी जीवनपछि पनि भलिबलप्रतिको लगावलाई निरन्तरता दिनुभएका केसीले नयाँ पुस्ताका खेलाडी उत्पादन तथा उनीहरूको क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो । म्याग्दी भलिबल ट्रेनिङ सेन्टरको टोलीलाई प्रशिक्षण दिनुभएका उहाँले स्थानीय खेलाडीलाई राष्ट्रियस्तरका प्रतियोगितामा सहभागी गराउनसमेत योगदान पुर्याउनुभएको थियो ।
केसीको निधनले म्याग्दीले अनुभवी र समर्पित खेलाडी गुमाएको जिल्ला भलिबल संघका अध्यक्ष बानियाँले बताउनुभयो । उहाँले स्वर्गीय केसीको खेलप्रतिको लगाव, अनुभव र योगदानलाई नयाँ पुस्तामाझ स्थापित गर्न संघले आवश्यक पहल गर्ने उल्लेख गर्नुभयो।
जिल्ला भलिबल संघले स्वर्गीय केसीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । भलिबल खेलको विकास, खेलाडी उत्पादन र प्रशिक्षणमा उहाँले पुर्याउनुभएको योगदान म्याग्दीको खेलकुद इतिहासमा सधैँ स्मरणीय रहनेछ ।