मोरङ । मोरङको जहदा गाउँपालिका–२ मोहनपुरमा फलामको रड प्रहारबाट एक पुरुषको हत्या भएको छ । घटनामा संलग्न रहेको आरोपमा मृतककी श्रीमतीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार आइतबार राति करिब ९ बजे स्थानीय ४० वर्षीय बुधराम सोरेनमाथि उनकी ३५ वर्षीया श्रीमती कमली बास्के र भारतको बिहार निवासी २७ वर्षीय सुनील मिश्रले फलामको रड प्रहार गरेका थिए । टाउकोमा रड लागेर गम्भीर घाइते भएका सोरेनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिएका छन् ।
घटनाको जानकारी पाएलगत्तै पुगेको प्रहरीले घटनामा प्रयोग गरिएको रडसहित सुनील मिश्रलाई नियन्त्रणमा लिएको थियो । घटनापछि फरार भएकी कमली बास्केलाई भने सोमबार बिहान करिब साढे ७ बजे खेतमा भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ । घटना के कारणले भएको हो भन्ने विषय अझै खुल्न सकेको छैन । घटनाको वास्तविक कारण पत्ता लगाउन प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।