म्याग्दी । बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल उद्योगमा आगलागी हुँदा करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको छ । उद्योगमा रहेको फर्नेस आयल भण्डारण ट्यांकीमा विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कर्यालय बाँकेले जनाएको छ ।
बिहीबार बिहान करिब १ः३० बजे उद्योग परिसरमा रहेको फलाम पगाल्ने प्रक्रियामा प्रयोग हुने फर्नेस आयलको ट्यांकीमा अचानक आगो लागेको थियो । प्रहरीका अनुसार आगलागी भएको ट्यांकीको क्षमता २ लाख लिटर रहेको छ ।
आगलागीको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरा खुर्दबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरी, स्थानीयवासी र दमकलको संयुक्त प्रयासमा बिहान २ः३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो ।
समयमै आगो नियन्त्रणमा लिन सकिएकाले उद्योगमा थप क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ । घटनामा कुनै पनि मानवीय क्षति नभएको बताइएको छ । यद्यपि, आगलागीको वास्तविक कारण र क्षतिको विस्तृत विवरणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।