म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीस्थित ऐतिहासिक कोत मन्दिरमा विजयादशमीको नवमीका दिन बलि दिइने सरकारी राँगोको मार हान्न यस वर्ष पाँच लाख पाँच हजार रुपैयाँको बोलकबोल भएको छ । कालरात्रिको अवसरमा सोमबार आयोजित खुला बडीबढाउमा सबैभन्दा बढी रकम कबोल गर्दै रघुगंगा गाउँपालिका–२, साझपानीका स्थानीय सविससिङ (शिव) भण्डारीले मार हान्ने जिम्मेवारी पक्का गरेको हो ।
भण्डारीका तर्फबाट गोपाल भण्डारीले बोलकबोलमा सहभागिता जनाएका थिए । पूजा व्यवस्थापन समितिले ५० हजार रुपैयाँबाट सुरु गरेको बडीबढाउमा रघुगंगा गाउँपालिका–३ छायाँपानीका उमेश आचार्यले पाँच लाख एक हजार रुपैयाँसम्म कबोल गरेका थिए । तर, अन्तिम प्रतिस्पर्धामा भण्डारी पक्षले चार हजार रुपैयाँ बढी रकम प्रस्ताव गरेपछि मार हान्ने अवसर प्राप्त गरेको हो ।
भगवती कोत मन्दिरमा कालरात्रिको रात सर्वसाधारणको उपस्थितिमा खुला बोलकबोल गरेर सरकारी राँगोको मार हान्ने व्यक्ति छनोट गर्ने परम्परा रहिआएको छ । मनोकांक्षा पूरा हुने र जीवनमा उन्नति–प्रगति हुने जनविश्वासका कारण यस अवसरमा सहभागी हुन चाहनेहरूको आकर्षण बढ्दै गएको भगवती कोत मन्दिर पूजा व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र मल्लले बताउनुभयो ।
यसअघि गत वर्ष रघुगंगा गाउँपालिका–२ नागनागीका भगवान खत्रीले चार लाख ९२ हजार रुपैयाँ कबोल गरेर सरकारी राँगोको मार हानेका थिए । त्यसैगरी, २०८१ सालमा रघुगंगा–३ कलेजबाङका सोवित भण्डारीले चार लाख ७१ हजार, २०८० सालमा रघुगंगा–२ सिजलगाउँका एकेन्द्र भण्डारीले तीन लाख ३० हजार, २०७९ सालमा सचिन केसीले तीन लाख १५ हजार र २०७८ सालमा आरेन खड्काले तीन लाख रुपैयाँ कबोल गरेका थिए ।
विगतका वर्षहरूको तुलनामा यस पटकको कबोल रकम बढेको छ । धार्मिक आस्था, परम्परा र मनोकामना पूरा हुने विश्वासले सरकारी राँगोको मार हान्ने अवसरलाई यहाँ विशेष महत्त्वका साथ हेरिन्छ । यही कारण हरेक वर्ष बोलकबोलमा प्रतिस्पर्धा हुने गरेको छ ।
स्थानीय जनविश्वासअनुसार भगवती कोतमा दुर्गाभगवतीलाई बलि चढाइने राँगोको मार हान्ने व्यक्तिको मनले चिताएको पूरा हुन्छ । बाइसे–चौबिसे राज्यकालदेखि नै यस मन्दिरमा बढाबढमार्फत मार हान्ने व्यक्ति छनोट गर्ने चलन रहेको बताइन्छ ।
नवमीका दिन राँगोको मार हानेपछि पूजा व्यवस्थापन समिति, आफन्त र गाउँलेहरूले विजेताको शिरमा फेटा बाँधिदिएर बाजागाजासहित सम्मान गर्ने परम्परा छ । स्थानीयका अनुसार धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको भगवती कोतमा सरकारी राँगोको मार हान्न हुने बोलकबोल रकम नेपालकै उच्चमध्ये पर्ने गरेको छ ।